• १४ मंसिर २०८१, शुक्रबार

वर्ष बित्दा पनि सुन्तला किसानले पाएनन् क्षतिपूर्ति

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर ३० गते । आफ्ना र छिमेकीको बगैँचामा फलेको सुन्तला कोल्ड स्टोरमा राखी बेसिजनमा विक्री गरी मनग्य आम्दानी गर्ने पुतली बजार नगरपालिका ७ ठुलाडीहीका डिलबहादुर रानाको सोचेँ थियो । 

सोही सोचले पुतली बजार नगरपालिका ११ जैसिडाडाँको कोल्ड स्टोरमा राखेका सुन्तला कुहिएपछि उहाँको सबै सपना चकनाचुर भएको थियो । 

सुन्तला कहिएर लाखौँ क्षति भएपछि प्रदेश सरकारबाट क्षतिपूर्ति पाउने आसा रानाको थियो तर एक वर्ष बित्दा समेत क्षतिपूर्ति नपाएको गुनासो गनुभयो । 

आफ्नो घरको ४४९ र अन्यको बगैँचाबाट ८३५ क्रेट सुन्तला खरिद गरेर कोल्ड स्टोरमा सबै भन्दा धेरै सुन्तला राख्नु भएका रानाले सावा आउन त  परै जाओस् १७ लाख रुपियाँ क्षति पुगेको थियो । 

प्रदेश सरकारले पैसा छुटाएको र उत्पादनको आधारमा दिने सुनेको बताउँदै दिने भए कोल्ड स्टोरमा भएको क्षतिको दिन आग्रह गर्नुभयो ।  

प्रदेश सरकारका तत्कालीन मुख्य मन्त्री खगराज अधिकारी तथा अर्थमन्त्री सहितको टोली आएर क्षतिपूर्ति दिने बताए पनि आश्वासनमा मात्र सीमित भएको हो । 

पटक पटक अनुगमन तथा निरीक्षण भए पनि किसानले क्षतिपूर्तिको रकम हाल सम्म प्राप्त गर्न नसकेको बताउनुभयो । 

रानाको मात्रै नभएर कोल्ड स्टोरमा सुन्तला राख्ने यहाँका दुई सय किसानहरूको व्यथा एउटै रहेको छ । 

पुतली बजार नगरपालिका १२ का किसान बोधराज अर्यालले आफूले ६० क्रेटमा सुन्तला राखेको बताउँदै आधा कुहिएर क्षति भएको बताउनुभयो । 

केही आर्जन गर्ने रहरले सुन्तला कोल्ड स्टोरमा राखे पनि क्षति भएको अर्यालको भनाई थियो । 

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले सुन्तलाको भण्डारण प्रक्रिया र कोल्ड स्टोरको भित्री तापक्रम नमिल्दा सुन्तला कुहिन पुगेको बताउनुभयो । 

कोल्ड स्टोरमा दुई चार क्रेटबाट १ हजार ४ सय क्रेट सम्म सुन्तला भण्डारण गरिएको थियो । कोल्ड स्टोरमा भण्डारण गरिएका छ हजार चार क्रेटको ६० प्रतिशत सुन्तला कुहिएका थियो । 

दुई करोड ३० लाखको सुन्तला भण्डारण भएकोमा एक करोड ५० लाख बराबरको सुन्तला बिग्रिएर नष्ट भएको थियो । क्षतिपूर्तिका लागि किसानको नाम र क्षति सङ्कलन भए पनि थप अन्य प्रगति हुन नसकेको हो । कोल्ड स्टोरमा सुन्तला कुहिएपछि बचेखुचेका सुन्तला कौडीको मूल्यमा बजारमा बेचिएको थियो । 

किसानले सुन्तला राख्न आनाकानी 

एक वर्ष पहिला कोल्ड स्टोरमा राखेका सुन्तला राखेर कुहिएपछि तर्सेका यहाँका किसानले नराख्ने सोचेँ बनाएका छन् । कृषकले सरकारले सुन्तलाको बिक्री गरी दिएमा सुन्तला कोल्ड स्टोरमा राख्ने सोचेँ बनाएका हुन् । 

कोल्ड स्टोरका अध्यक्ष अनन्त कुमार श्रेष्ठले सरकाले दिन्छु भनेर क्षतिपूर्ति नदिँदा सुन्तला किसानले यस वर्ष राख्न आनाकानी गरेको बताउनुभयो । कृषकले बिमा माग्ने र सरकारको बिमा गर्ने कुनै प्रावधान नभएको बताउँदै श्रेष्ठले छलफल भइरहेको बताउनुभयो ।