• १२ मंसिर २०८१, बुधबार

रुख कटान आदेश नहुँदा विद्युत् विस्तार अवरुद्ध

blog

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर ३० गते । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो । 

आयोजना प्रमुख रवि चौधरीका अनुसार विवादरहित क्षेत्रमा काम सकिए पनि निकुञ्ज क्षेत्रभित्रका रुख कटानको आदेश नहुँदा र स्थानीयको अवरोधका कारण काम रोकिएको हो । अहिलेसम्म २२ किलोमिटरसम्म तार तान्ने काम भइसकेको छ । ९५ वटा फाउन्डेसन निर्माण र ६० वटा टावर तयार भइसकेका छन् । ८० वटा पोल गाडिएको छ । बाँकी रहेका काम अघि बढाउन मुआब्जा विवाद र रुख कटानको समस्या समाधान गर्नुपर्ने हुन्छ ।

कर्णालीमा बिजुली पुग्ने एउटै आधार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनलाई १३२ केभीको बनाउन काम थालिएको हो तर निकुञ्जले रुख कटान अनुमति दिएको छैन । रुख कटानको अनुमतिको फाइल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएको छ । विभागबाट अनुमति प्राप्त नहुँदा निकुञ्ज क्षेत्रमा काम अघि बढ्न सकेको छैन । आयोजनाका अनुसार निकुञ्ज क्षेत्रभित्रका करिब छ हजार रुख कटानका लागि अनुमति मागिएको छ । आयोजना प्रमुख चौधरीका अनुसार ठेकेदारले काम गर्ने ठाउँ दिनूस् भनेर पत्राचार गरिरहेको छ । अब काम गर्न बाँकी क्षेत्रमा विवाद नै विवाद छ । त्यसैले काम ठप्प भएको हो ।

विद्युत् विस्तार क्षेत्रमा पर्ने व्यक्तिको स्वामित्वमा रहेका जग्गा मुख्य समस्या बनेका छन् । 

मुआब्जाको विषय नटुङ्गिएकाले उक्त जग्गा आयोजनाको नाममा बनाउन समस्या भइरहेको छ । यसका साथै सरकारी वन क्षेत्र प्रयोग गर्न पनि अनुमति नपाउँदा काम गर्न सकस भएको हो । निर्माण कम्पनीले काम गर्छुभन्दा पनि काम गर्ने क्षेत्र नहुँदा हात बाँधेर बस्नु परिरहेको प्रमुख चौधरीले बताउनुभयो । आयोजनाको ठेक्का सम्झौता भएसँगै कानुनी प्रव्रिmयामै झन्झट बेहोर्नु परिरहेको उहाँको भनाइ छ । उहाँले कानुनी उल्झन र विभिन्न अवरोधका कारण आयोजनाको काम रोकिएकाले सरोकारवालाले यस सम्बन्धमा चासो दिनुपर्ने बताउनुभयो ।

सुल्झिएन विवाद

सुर्खेतको वीरेन्द्रनगर–११, सुब्बाकुना र बाँकेको वैजनाथमा जग्गा विवाद कायमै रहेको छ । विवाद नै विवादका कारण आयोजना निर्माणको काम ठप्प भएको हो ।

आयोजना प्रमुख चौधरीका अनुसार वैजनाथमा विवाद समाधान नहुँदा तीन वर्षदेखि लाइन विस्तार कार्यमा अवरोध भइरहेको छ । सुब्बाकुनामा पनि विवाद सुल्झिएको छैन ।

विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको वैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार वैजनाथ गाउँपालिका–१, गाभर र वडा नं. ४ को बानियाभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । पछिल्लो समय यो विवाद थप पेचिलो बन्दै भएको आयोजनाले जनाएको छ ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ साल असारदेखि गरिएको थियो । आयोजनाको ७० प्रतिशत प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । २०८० साल चैतमा आयोजनाको सम्झौता सकिँदै छ । भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्ट प्रालिले ७० करोड रुपियाँमा आयोजनाको ठेक्का पाएको हो । जनशक्ति र उपकरण पर्याप्त भए पनि आयोजना निर्माण क्षेत्रमा विवाद हुँदा काम रोकिएको हो ।

समस्या समाधानका लागि पहल भइरहेको प्रदेश सरकारले जनाएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या सुल्झाउन पहल भएको बताउनुभयो । उहाँले आयोजना विवादले गौरवको आयोजना रोकिन हुँदैन भन्ने मान्यतामा आफू रहेको र केन्द्रीय तहलाई समेत यस विषयमा जानकारी गराउने बताउनुभयो ।