• १३ मंसिर २०८१, बिहिबार

खप्तड सडक अलपत्र

blog

बझाङ समाचारदाता

बझाङ, मङ्सिर ३० गते । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकास्थित खप्तड पर्यटकीय सडकको निर्माण तीन वर्षदेखि रोकिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशको बझाङतर्फको यो मार्ग प्रमुख सडकसमेत हो ।

कुचेखोला, सिल्कावाड, लम्तडा सडक र दारुगाउँ लोखडा पर्यटकीय सडकको निर्माण तीन वर्षदेखि रोकिएको छ । ठेकेदार कम्पनी सम्पर्कविहीन बनेपछि सो सडकको निर्माण अलपत्र परेको हो । स्थानीयले सडक निर्माण अघि बढाउन मार्ग राख्दै पूर्वाधार विकास कार्यालय बझाङमा समेत पटक पटक अनुरोध गर्दै आएका छन् ।

प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई भिœयाउने उद्देश्य अनुरूप २०७६ सालबाट खप्तड पर्यटकीय सडक खन्न थालेको थियो ।

पूर्वाधार विकास कार्यालयमार्फत एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजार २१८ रुपियाँमा ट्र्याक खोल्ने ठेक्का पाएको थियो । सडक निर्माणसम्बन्धी ठेक्का सम्झौता २०७७ साल पुस २ गते भएको थियो । 

सम्झौता गरेको केही समयसम्म निर्माण कम्पनीले काम गरी छोडेको स्थानीयले बताएका छन् । निर्माण कम्पनीले नौ लाख ८४ हजार ८६९ रुपियाँ भुक्तानीसमेत लिएको जनाइएको छ । सो सडकखण्डको काम निर्माण २०७९ साल असार ३१ गते पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ  । 

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापाका अनुसार स्थानीय र स्थानीय सरकारले पटक पटक ताकिता गरे पनि निर्माण कम्पनी सम्पर्कमा आएको छैन । जसले गर्दा सडक निर्माण अलपत्र अवस्थामा रहेको छ । ठेकेदारको बैङ्क ग्यारेन्टीसमेत सकिएकाले कम्पनीलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताइन्छ ।

सडकको केही ट््याक खोलेर ठेकेदार सम्पर्कविहीन बनेपछि वडा नम्बर ३ का स्थानीयले काम गरेको पैसा नदिएको भन्दै ठेकेदारका प्रतिनिधि शेरबहादुुर खड्काको ट्याक्टरसमेत नियन्त्रणमा लिएर लम्तडामै राखेका छन्  । सो ट्याक्टरसमेत सडकमा अलपत्र अवस्थामा छ । सो सडकखण्डमा काम गरेका यहाँका स्थानीय बासिन्दाले आफूहरूले गरेको श्रमको समेत रकम नपाएको स्थानीय तथा समाजसेवी मेखराज रावलले बताउनुभयो  ।

उहाँले भन्नुभयो, “कि यस निर्माण कम्पनीले काम अघि सार्नु प¥यो  कि त ठेक्का रद्द गरेर स्थानीय सरकारले पनि काम गर्न सक्ने वातावरण पूर्वाधार विकास कार्यालयले सिर्जना गरिदिन प-यो ।”

सो सडक लोखडासम्म पु-याउन सक्यो भने खप्तड जान बढीमा दुई घण्टा मात्र पैदल हिँड्नुुपर्ने हुन्छ । सो सडकको काम अघि नबढेका कारण बाह्य र आन्तरिक पर्यटकको आगमनमा समेत बाधा पुगेको छ । जिल्ला समन्वय समितिका सदस्य टोपबहादुर खड्काका अनुसार सडक अधुरै रहनुमा पूर्वाधार विकास कार्यालयका कर्मचारीको समेत मिलेमतो रहेको छ । पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गर्दा र भुक्तानी गर्दा ठेकेदार कम्पनीबाट धरौटी राख्नुपर्ने, बैङ्किङ धरौटी भए नभएको जानकारी लिनुपर्ने, बैङ्किङ धरौटीको म्याद थप भए नभएका बारे जानकारी लिएपछि मात्रै भुक्तानी दिनुपर्ने हुन्छ । 

बैङ्किङ धरौटीको समय सकिएको भए पनि कार्यालयले वास्ता नगरेको पाइएको छ । अब कम्पनीलाई कारबाही गर्ने ठाउँसम्म नरहेको उहाँको भनाइ छ । कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भने पनि आवश्यक प्रव्रिmयामा कार्यालय चुकेको देखिन्छ । बैङ्किङ धरौटी छैन । निर्माण कम्पनीलाई कारबाही गर्ने हो भने आठदेखि १० लाख रुपियाँ जरिबाना गर्नुपर्ने देखिन्छ । 

सो जरिबाना तथा असुलउपर गर्न ठेकेदार कम्पनीले बैङ्किङ धरौटी नवीकरणसम्म गरेको पाइँदैन । जसका कारण पूर्वाधार विकास कार्यालयले मुखदर्शक बन्नु परेको छ । कार्यालयका कर्मचारीको कमजोरीका कारण पनि यो सडकको अवस्था यस्तो अवस्थामा पुगेको स्थानीय बासिन्दाको आरोप छ ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकायाले पूर्वाधार विकास कार्यालयले निर्माण अघि बढाउन स्थानीय तहलाई बाटो खुला गरिदिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “न ठेक्काको काम अघि बढाउँछ, न हामीलाई काम गर्ने वातावरण सिर्जना गरेको छ । अहिलेसम्म पालिकाको बजेटबाट भए पनि सडक कटानको काम पूरा गरिसक्थ्यौँ ।”

स्थानीय आग्रह अनुसार जिल्ला समन्वय समितिका पदाधिकारी, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधिले अलपत्र सडकको अनुगमन गरेको जनाइएको छ । 

यस्तै कुुचेखोला, सिल्कावाडा हुँदै लम्तडा सडकको स्तरोन्नतिको जिम्मा पाएको चन्द्रा एन्ड वसन्ता जेबी निर्माण कम्पनी दुई वर्षदेखि सम्र्पकविहीन रहेको छ । आठ करोड ७३ लाख रुपियाँमा २०७६ सालमा सम्झौता गरेको चन्द्र एन्ड वसन्ता जेभी निर्माण कम्पनीले यो सडक क्षेत्रमा सामान्य कामबाहेक सडकको स्तर सुधारको काम अलपत्र पारेर दुई वर्षदेखि सम्पर्कविहीन रहेको जनाइएको छ ।

स्थानीय बासिन्दा टोपबहादुर खड्काले भन्नुभयो, “यो बेथितिको पनि हद हुन्छ नि । सुरुमा काम गर्दा केही काम गरेको र अहिले दुई वर्ष भयो काम अलपत्र छ । बनाइएका संरचनासमेत भत्किसकेका छन् ।”