• ११ मंसिर २०८१, मङ्गलबार

मनाइयो तोतनरी ल्होसार

blog

हुम्ला समाचारदाता 

हुम्ला, मङ्सिर ३० गते । यहाँका बौद्ध धर्मावलम्बी तथा भोटे लामा समुदायको महान् चाड तोतनरी ल्होसार धुमधामका साथ मनाइँदै छ । कैलाश पर्वत क्षेत्र आसपासका लामा समुदायले तोतनरी ल्होसार विगतमा जस्तै यस वर्ष पनि धुमधामका साथ मनाउने कार्यक्रम रहेको छ । 

सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले माथिल्लो कैलाश पर्वत क्षेत्रमा बसोबास गर्ने लामा समुदायको तोतनरी ल्होसार हुम्लामा धुमधामका साथ मनाउने कार्य भइरहेको बताउनुभयो । यो ल्होसार तिब्बत र नेपालीका हिमाली लामा समुदायले मनाउने गरेका छन् । उहाँले पहिले पहिले हुम्लामा ल्होसार सुरु भएको दिनदेखि श्रीपञ्चमीसम्म मनाउने गरिएकोमा हाल भने चार दिन मनाउन थालिएको बताउनुभयो । स्थानीय बासिन्दा परम्परागत पोसाक, गरगहनामा सजिएर एकादशीदेखि चतुर्दसीसम्म ल्होसार मनाउने गरेका छन् । यो बेला घर घरमा कुल देवताको पूजासमेत गर्ने गरिन्छ । यो पर्वमा लामा समुदायले मानिस थोरै भए घर घरमा पालो लगाएर पाहुना खान जाने र धेरै भए एक्कै स्थानमा जम्मा भएर नाचगानका साथै मिठा परिकार बनाएर खाने प्रचलन रहेको छ । त्यस्तै नयाँ वर्ष सुरु हुने भएका कारण गुम्बामा लिङ्गो गाड्ने कार्यसमेत हुन्छ भने सदरमुकाम सिमकोटमा रहेको गुम्बामा शुक्रबार सबै लामा समुदाय मिलेर नयाँ लिङ्गो गाड्ने कामसमेत सम्पन्न भएको छ । बिहान नुहाइसकेपछि मान्यजनसँग आर्शीवाद माग्ने चलन रहेको छ । 

साना नानीदेखि वृद्धसम्मले उवाको छ महिना पहिलेबाट तयार पारिएको रक्सी (छ्याङ) खानैपर्ने प्रचलन रहेको स्थानीयले बताएका छन् ।