ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), मङ्सिर ३० गते । निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगरको सहलगानीको खानेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो । परियोजना पूर्ण रूपमा सम्पन्न नहुँदा बागलुङवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।
बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी लिफ्टिङमार्फत रातामाटामा तानेर शुद्धीकरणपछि बजारमा वितरण गर्न २०७५ सालदेखि लिफ्टिङ खानेपानी परियोजना निर्माण थालिएको थियो । उक्त खानेपानी परियोजना दुई वर्षभित्र सम्पन्न गर्न २०७५ साल असार ३१ गते कनकाई जयमाता जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । २०८० साल असार १७ मा चौथो पटक थपेको म्याद पनि समाप्त भएको छ । सम्झौता अनुसार २०७७ असार ३१ गते योजना सम्पन्न हुनुपर्ने हो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बेनीका इन्जिनियर नवीन सुवेदीले ठेकेदारको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण समयमै योजना सम्पन्न हुन नसकेको बताउनुभयो । बागलुङ, मुस्ताङ र म्याग्दीका योजना हेर्ने गरी उक्त परियोजना तत्कालीन डिभिजन खानेपानी कार्यालय बागलुङबाट हस्तान्तरण भएर आएको हो । उहाँका अनुसार हालसम्म परियोजनाको ८७ प्रतिशत भौतिक प्रगति भएको छ । विगत तीन वर्षदेखि परियोजनाको पाइपलाइनमा पहिरोले क्षति पु-याउँदै आएको उहाँले बताउनुभयो । तीन सयदेखि चार सय मिटरसम्म लिफ्टिङको मुख्य पाइपलाइनमा पहिरोले क्षति पु¥याएको छ । उहाँले भन्नुभयो, “पछिल्लो पटक थपिएको म्याद पनि गत असार १७ गते सकिएको छ । योजना सम्पन्न नहुँदै बाढीपहिरोले पाइपलाइन क्षतविक्षत बनायो । योजना सम्पन्न नभएकाले ठेकेदारले नै पुनः पाइपलाइन हाल्नुपर्ने निर्माण आयोजना कार्यालयको भनाइ छ । ठेकेदार भने मानिरहेको छैन । ठेक्काको म्याद पनि सकिएको छ । अब के गर्ने भन्नेबारेमा आयोजनाले सोचिरहेको छ ।”
निर्माण कम्पनी कनकाई जयमाता जेभीका इन्जिनियर विव्रmम अधिकारीले कोरोना महामारीलगायतका अन्य प्राविधिक समस्याले समयमै काम सम्पन्न गर्न कठिन भएको बताउनुभयो । ठेक्काको म्याद थपे मात्र काम अगाडि बढाउन सकिने उहाँको भनाइ छ । मुख्य पाइपलाइन पहिरोले बगाए पनि अर्को पाइपलाइनबाट पुरानो ट्याङ्कीमा पानी हालेर बजारमा खानेपानी वितरण गरिएको अधिकारीले बताउनुभयो । कोरोना महामारी, आयोजना निर्माण स्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको इन्जिनियर अधिकारीले बताउनुभयो ।
पानी जम्मा गर्न पाँच व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुई वटा ट्याङ्की तयार गरिएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो । योजनाका लागि पानी लिफ्टिङमा प्रयोग हुने ६३० केभिएको ट्रान्सफर्मर जडान सम्पन्न भएको छ । योजनाबाट बजार क्षेत्रका ६० हजार उपभोक्ता लाभान्वित हुने आयोजनाले जनाएको छ । काठेखोलाको पानी ‘लिफ्टङ’ प्रविधिबाट तानेर बागलुङ नगरपालिका–३, रातामाटा पु-याइने छ । काठेखोलादेखि सात सय मिटरमाथि रातामाटामा निर्माण भएको पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण गर्ने योजना छ ।