चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको छ । फुङ्लिङ नगरपालिका –८ दोखुको पानीट्याङ्की टोलमा निर्माण गर्न सुरु गरिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको हो ।
सात वर्षअघि अर्थात् २०७३ सालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी गुम्बा निर्माण सुरु गरिएको भए पनि बजेट अभावले निर्माण कार्यमा प्रगति भएको छैन । ङाग्युर ञिङ्मा डोकुन थार्पालिङ नामकरण गरी बौद्ध गुम्बा निर्माणको काम सुरु गरिएको थियो । बजेट अभाव भएकाले निर्माण कार्यमा समस्या भइरहेको गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष भगिमान तामाङले बताउनुभयो ।
तामाङका अनुसार जिल्लाकै एक आकर्षक र नमुना गुम्बा बनाउने दावीसहित संरचनाको आकृति (डिजाइन) बनाएर निर्माणको काम सुरु गरिएको थियो । निर्माणको काम सुरु गरेको सात वर्ष हुँदासमेत पर्याप्त बजेट नहुँदा गुम्बा निर्माणमा ५० प्रतिशत पनि प्रगति नभएको उपभोक्ता समितिले जनाएको छ । वडा सदस्यसमेत रहनुभएका बौद्ध गुम्बा व्यवस्थापन समितिका सदस्य भूपेन्द्र मगरले बजेट जुटाउन गाह्रो भएको बताउनुभयो ।
उहाँका अनुसार हालसम्म गुम्बा विकास समितिबाट प्राप्त सात लाख रुपियाँ, पूर्व प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङको प्रदेश सांसद विकास कोषबाट प्राप्त नौ लाख रुपियाँ खर्च भएको छ ।
त्यस्तै नगरपालिका र वडाबाट प्राप्त रकम तथा स्थानीयले सङ्कलन गरेको ४० लाख रुपियाँ नगद र जनश्रमदान गरी हालसम्म करिब एक करोड रुपियाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षका लागि वडाबाट विनियोजित छ लाख रुपियाँबाहेक अन्य कुनै बजेट उपलब्ध नभएको पनि गुम्बा व्यवस्थापन समितिले जनाएको छ । यता, बजेट व्यवस्थाका लागि प्रदेश सरकार हुँदै जिल्लाबाट निर्वाचित प्रदेश तथा सङ्घीय सांसदहरुलाई पनि गुहार्दै आएको निर्माणाधीन बौद्ध गुम्बाका संरक्षक किरण पाख्रिन तामाङले बताउनुभयो । जनप्रतिनिधिसमक्ष बजेट माग गर्दा हालसम्म आश्वासन मात्र पाउनेगरेको तामाङको भनाइ छ ।
उक्त बौद्ध गुम्बा निर्माण सम्पन्न गर्न २०७३ सालमा गरिएको डीपीआरअनुसार कुल लागत रकम दुई करोड ५० लाख तीन हजार ८४७ रुपियाँ छ । सात वर्षसम्म पनि गुम्बा निर्माणको काम सम्पन्न नभएको गुम्बाका संरक्षक तामाङले बताउनुभयो ।
गुम्बा निर्माण गर्न सुरु गरिएको टोलमा तामाङ समुदायको बाहुल्य छ । हाल सो टोलका बासिन्दाले स्थानीय तह हुँदै जिल्लाबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने निर्वाचित जनप्रतिनिधिसमक्ष थप योजना नभइ निर्माणाधीन बौद्ध गुम्बा सम्पन्न गरिदिए पुग्ने बताउँदै आएका छन् । आफ्नो समुदायका लागि मात्र नभई निर्माणाधीन बौद्ध गुम्बा सबैको साझा बनाउन चाहेको उहाँहरुको भनाइ छ ।