• २९ वैशाख २०८२, सोमबार

पूर्वी मकवानपुर र काठमाडौँ नजिकिँदै

blog

राममणि दाहाल 

हेटौँडा, मङ्सिर २९ गते । मकवानपुरको पूर्वी गाउँपालिका बकैया गाउँपालिका–४ र ११ जोड्ने सडक स्तरोन्नति सुरु गरिएको छ । हेटौँडा–धरान–चतरा सडकखण्ड र कान्ति लोकपथलाई जोड्ने गरी गाउँपालिकाले ट्र्याक निर्माण गरेको उक्त सडकखण्डको स्तरोन्नतिको काम बागमती प्रदेश सरकार र गाउँपालिकाको बजेटमा दुई खण्डमा गरी सुरु गरिएको हो ।

हेटौँडा–धरान–चतरा सडक खण्ड अन्तर्गत बकैया ४ जुरेलीबाट ठुलो थली हुँदै पिपलडाँडा–देउरालीबाट बकैया–११ स्थित सिमात घुम्तीस्थित कान्ति लोकपथ सडकखण्डमा जोडिने छ । 

कान्ति लोकपथ जोड्ने गरी स्तरोन्नति गरिने जुरेली–ठुलो थली–पिपलडाँडा–कत्लेखोला सडकखण्डको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्रीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ । 

चालु आर्थिक वर्ष २०८०÷८१ को बागमती प्रदेश सरकारको एक करोड समपूरक अनुदान र गाउँपालिकाको एक करोड रुपियाँ गरी दुई करोड रुपियाँ बजेट रहेकोमा बोलपत्र आह्वान गरी ठेक्का लगाउँदा निर्माण कम्पनीले एक करोड ११ लाख रुपियाँको लागतमा स्तरोन्नतिको कार्य गर्ने गरी ठेक्का सम्झौता गरेको छ । सडकखण्डको जुरेली–ठुलो थली हुँदै कत्लेखोलासम्म स्ल्याब ढलान, कजवे, ह्युमपाइप सडक स्तरोन्नतिलगायतका कार्य हुने छ ।

यस्तै बकैया–११ स्थित सिमात घुम्ती–देउराली–पिपलडाँडा हुँदै बकैया गाउँपालिका–४ को थलीबाट सोही वडाकै गोठखोलामा जोड्ने विकल्पसमेत रहेको छ । गोठखोला वा जुरेलीबाट ठुलो थली हुँदै कान्ति लोकपथ जोडिने गरी यसअघि नै गाउँपालिकाले ट्र्याक निर्माण गरेको हो । गोठखोलाबाट भन्दा जुरेलीबाट थली हुँदै कान्ति लोकपथ जोडिने सडक केही छोटो रहेको बकैया गाउँपालिका–११ का वडाध्यक्ष गोपालबहादुर नेसुर (लामा) बताउनुहुन्छ ।

चालु आवमा पूर्वाधार विकास कार्यालय चितवनमार्फत योजना कार्यान्वयन गर्ने गरी बकैया ११ को सिमात घुम्ती हुँदै देउराली जोड्ने सडक स्तरोन्नति गर्न ९५ लाख रुपियाँ प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय चितवनले ठेक्का प्रव्रिmया अगाडि बढाएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । उक्त बजेटबाट सिमात घुम्ती हुँदै देउराली सडकखण्डमा स्ल्याब ढलान, कजवे, ग्याभिन वाल निर्माणलगायत सडक स्तरोन्नति गरिने छ । यस्तै हेटौँडा–धरान–चतरा सडकखण्ड अन्तर्गतको जुरेलीदेखि कान्ति लोकपथ सडकखण्ड अन्तर्गत सिमात घुम्तीसम्म बाह्रै महिना सडक सञ्चालन हुने गरी पूर्वी क्षेत्रमा यातायात आवागमन सहज बनाउन बकैया–११ को पिपलडाँडा र देउराली जोड्ने गरी कत्लेखोलमा पक्की पुल निर्माण गरिने भएको छ ।

प्रदेश सरकारले पुल निर्माण प्रव्रिmया सुरु गर्न चालु आवमा एक करोड रुपियाँ विनियोजन गरेको छ । उक्त पिपलडाँडा र देउराली जोड्ने पुलको विस्तृत परियोजना प्रस्ताव गाउँपालिकाले तयार गरी चालु आवबाटै पुल निर्माण सुरु गर्ने योजना रहेको वडाध्यक्ष लामाले बताउनुभयो ।कत्लेखोलामा पुल निर्माण भई सडकखण्ड स्तरोन्नतिपछि बाह्रै महिना सडक सञ्चालनसँगै मकवानपुरको पूर्वी क्षेत्र र सङ्घीय राजधानीबिचको दुरी घट्ने छ ।

कत्लेखोलामा पुल नबन्दा मकवानपुरको बकैया र बागमती गाउँपालिकाका बासिन्दा सडक अवरुद्ध भई हेटौँडा उपमहानगपालिका–६ स्थित चुच्चेखोलानजिक कान्ति लोकपथ भएर वा हेटौँडा बजार आएर भैँसे भीमफेदी–कुलेखानी हुँदै लामो दुरी तय गरेर काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ ।

कत्लेखोलामा पक्की पुल निर्माणसँगै जुरेलीदेखि सिमात घुम्तीसम्मको सडक स्तरोन्नतिपछि मकवानपुरको पूर्वी क्षेत्रसँगै सिन्धुली जिल्लाका समेत सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन सहज हुने बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । उक्त सडकखण्ड स्तरोन्नतिपछि स्थानीय उत्पादन काठमाडौँ पु¥याउन सहज हुने भन्दै पालिका अध्यक्ष लामिछानेले भन्नुभयो, “सडकको दुरी घट्छ, इन्धन र समय पनि बचत हुन्छ ।”

स्थानीय तहको दोस्रो निर्वाचनपछि सिमात घुम्ती–देउराली–पिपलडाँडा हुँदै गोठखोला जोड्ने सडकको ट्र्याक पालिकाको ५० लाख रुपियाँको लागतमा निर्माण गरिएको थियो । मकवानपुरको पूर्वी क्षेत्रका बासिन्दालाई अहिले हेटौँडा आएर कान्ति लोकपथ हुँदै वा कान्ति लोकपथ पनि अवरुद्ध हुँदा हेटौँडा आएर भैँसे–भीमफेदी–कुलेखानी हुँदै लामो दुरी तय गरेर काठमाडौँ जानुपर्ने बाध्यता छ । उक्त सडकखण्डको स्तरोन्नतिपछि मकवानपुरको पूर्वी क्षेत्रसँगै सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दासमेत लाभान्वित हुने छन् ।