महेन्द्रनगर समाचारदाता
महेन्द्रनगर (धनुषा), मङ्सिर २९ गते । विवाहपञ्चमी अवसरमा हुने कार्यव्रmममा सुरक्षा व्यवस्था सुदृढ बनाउन सिसिटिभी र ड्रोन क्यामराद्वारा सहरका विभिन्न क्षेत्रमा निगरानी गरिने भएको छ । धनुषाका जिल्ला प्रहरी प्रमुख मित्रबन्धु शर्माले विगतका वर्षमा भइरहेको घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको दाबी गर्नुभयो ।
विवाहपञ्चमीमा अत्यधिक सङ्ख्यामा भक्तजनको भिड लाग्ने चोरी र पाकेटमारीका घटना बढ्ने सम्भावना रहेकाले जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म सिसिटिभी, बाह्रबिघा मैदानमा ड्रोनका साथसाथै जानकी मन्दिरको प्राङ्गणमा पनि सिसी क्यामरा र ड्रोनको निगरानी रहने प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । चोरी, पाकेटमारी, महिलासँग हुने दुव्र्यवहार जस्ता घटना नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा गरिएको शर्माको भनाइ छ । प्रमुख शर्माका अनुसार सादा पोसाकमा महिला र पुरुष प्रहरी अत्यधिक सङ्ख्यामा परिचालन गरिने छ ।
त्यसै गरी शिवचोक, गङ्गासागर, जनकचोक, जानकीचोक, रमाचोक, जानकी मन्दिर, सोन्नरपट्टी, महावीरचोक, रामानन्दचोक, अस्पताल रोड, यात्री निवास, सङ्कटमोचनलगायतका क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीको तर्फबाट ठाउँ ठाउँमा हेल्प डेस्कसमेत राखिएको छ ।