• १ जेठ २०८१, मङ्गलबार

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्दै छौँ

blog

बिस वटा स्थानीय तह रहेको सर्लाहीमा कौडेना गाउँपालिका सदरमुकाम मलङ्गवासँगै जोडिएको छ । पूर्वपश्चिम हुलाकी सडकमा पर्ने यस पालिकामा सात वटा वडा छन् । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रूपेशकुमार यादव (बब्लु) नेतृत्वको गाउँ कार्यपालिकाले स्वास्थ्य, शिक्षा र सडकलाई प्राथमिकता दिएर काम गरिरहेको छ । गाउँपालिकालाई जिल्लाको नमुना पालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता गर्नुभएका अध्यक्ष यादवले भएका काम र आगामी योजनका बारेमा गोरखापत्रका सर्लाही समाचारदाता जनार्जन खत्रीले गर्नुभएको कुराकानी:

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि मुख्य के के काम गर्नुभयो ? 

 गत निर्वाचनमा जनताका माझ गरेका प्रतिबद्धता अनुसार काम गरिरहेका छौँ । निर्वाचित गाउँपालिकाभित्र अस्पताल निर्माण गर्ने प्रतिबद्धता गरेको थिएँ । सोही अनुसार गत वर्ष नै १५ शøयाको अस्पताल निर्माण गरेर सञ्चालनमा आइसकेको छ । पहिले यहाँबाट सामान्य औषधी उपचारका लागि मलङ्गवा धाउनु पथ्र्यो तर अहिले यही अस्पतालमा दैनिक ५०÷६० जनाले ओपिडीमा सेवा लिइरहेका छन् । अस्पतालमा प्रसूति गराउनेको चाप पनि बढेको छ । मुख्य हुलाकी सडकमा स्मार्ट बत्ती र सिसी क्यामेरा जडान गरेका छौँ । पहिले जस्तो रातको समयमा मलङ्गवा जाँदा आउँदा अँध्यारोमा असुरक्षित महसुस गर्नु परेको छैन । सडक दुर्घटना गराएर फरार हुने सवारीसाधन सडकमा राखिएका सिसी क्यामेराका कारण पक्राउ गर्न सहज भएको छ । आपराधिक घटना नियन्त्रणमा सहयोग पुगेको छ । पहिलो चरणमा मलङ्गवा नगरपालिकाको सीमादेखि विष्णु गाउँपालिकाको सीमासम्मको हुलाकी सडकमा मात्रै बत्ती जडान गरेका छौँ । आगामी दिनमा अन्य भित्री सडकमा पनि बत्ती र सिसी क्यामेरा दुवै राख्दै जाने योजना रहेको छ ।  

यहाँका अधिकांश बासिन्दा कृषिमा निर्भर छन् । कृषि विकासका लागि के गर्दै हुनुहुन्छ ? 

यहाँका कृषकले सिँचाइको अभाव झेलिरहेका छन् । आकाशे वर्षा कम हुँदा अन्न उब्जनी हुँदैन । सिँचाइको समस्या समाधानका लागि यसअघिका जनप्रतिनिधिको कार्यकालमा खेत खेतमा विद्युत् पोल र ट्रान्सफर्मर जडानको काम भएको थियो । त्यसलाई अहिले पनि निरन्तरता दिएका छौँ तर कतिपय ठाउँमा कृषि विद्युतीकरण सदुपयोग नभएको पाइयो । किसानलाई सिँचाइका लागि सहज र सुलभ ढङ्गले सेवा दिन हामी बृहत् छलफल गरिरहेका छौँ । निःशुल्क विद्युत् उपलब्ध गराउने वा साझेदारीमा विद्युत् प्रदान गर्ने भन्ने निक्र्योल गर्न बाँकी छ । गाउँपालिकाको क्षमता अनुसार किसानलाई बढीभन्दा बढी सेवा दिन प्रयासरत छौँ । 

हरेक वर्ष खेती लगाउने बेला मल अभाव हुने गरेको छ । मलखादको समस्या समाधान गर्न गाउँपालिकाले के कस्ता पहल गरेको छ ?

मलखाद त देशभर नै अभाव छ । मलाई लाग्छ राज्यका लागि यो ठुलो चुनौती हो । गाउँपालिकाले सरकारी अनुदानको मल ल्याउने र बिव्रmी वितरण गर्न सक्ने अवस्था अहिले छैन । 

यो पालिका सीमामा रहेको पालिका हो । यहाँका किसानले हरेक पटक खेती लगाउँदा पारि (भारतीय बजार) बाट मलखाद ल्याउने गरेका छन् । अहिले गहुँ छर्नका लागि पनि उतैबाट मल ल्याइरहेका छन् । यसरी मल ल्याउँदा समय समयमा प्रहरी प्रशासनबाट निकै दुःख झेल्नु परेको पनि हामीले बुझेका छौँ । हामीले गर्न सक्ने भनेको किसानका व्यावहारिक पक्ष हेरिदिन स्थानीय प्रशासनलाई आग्रह गर्ने मात्र हो । सीमा नाकाबाट मल ल्याउँदा प्रहरीसँग समन्वय गर्ने काममा हाम्रो भूमिका निरन्तर रहिरहन्छ । 

विद्यालय शिक्षा सुधारका लागि के गरिरहनुभएको छ ?  

पहिले जस्तो शिक्षकमा अनुशासनहीनता र विद्यालय नै नआई तलब खाने परिपाटी अहिले छैन । यसअघि १० जना शिक्षक रहेको विद्यालयमा पाँच÷छ जना नै अनियमित हुने समस्या थियो । अहिले त्यस्तो छैन । म आफैँ अनुगमनमा निस्किन्छु । पहिले त दिवा खाजामा पनि चरम भ्रष्टाचार हुँदोरहेछ । अहिले ती सबै विकृति रोकिएका छन् । गाउँपालिकाभित्रका १६ वटै सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन्छ । शिक्षकको अभाव त देशव्यापी समस्या नै हो । यहाँ पनि छ नै तर अब हामी पुसभित्र २०-२५ जना स्वयंसेवक शिक्षक नियुक्त गर्ने प्रयासमा छौँ । त्यसपछि शिक्षकको अभाव धेरै हदसम्म समाधान हुन्छ । 

गाउँपालिकाका जीर्ण र साँघुरा सडक सुधारका लागि के गर्दै हुनुहुन्छ ? 

हामी निर्वाचित भएर आएपछि सङ्घ, प्रदेश र पालिकाको समेत बजेटबाट गत वर्ष पाँच किलोमिटरभन्दा बढी सडक ढलान गरिसकेका छौँ । सडक साँघुरो हुने, कुनै मापदण्ड नहुने र सडकमै वस्तुभाउ बाँध्ने, बयलगाडा राख्ने, घाँस, दाउरा, गोबर र अन्य सरसामग्री थुपार्ने मधेशको चलन नै हो । सडक चौडा पार्न ठुलो चुनौती छ तर पनि मेरै नेतृत्वमा सडक चौडा पार्ने कामको सुरुवात भएको छ । चेतनाको कमीले गर्दा यस्तो भएको हो । चेतना अभिवृद्धि हुँदै गएपछि यी समस्या हट्दै जाने छन् भन्ने विश्वास छ । 

स्थानीय सरकारको प्रमुख भएर काम गर्दा कस्ता कस्ता चुनौती सामना गर्नु परेको छ ?  

मुख्य चुनौती भनेको राजनीतिक तवरबाट नागरिकलाई भ्रमित पार्ने काम हुन्छ । यहाँ त राजनीतिलाई व्यापार बनाएर ठगी गर्ने प्रवृत्ति धेरै नै छ । नागरिकलाई भ्रमित पारेर गलत सन्देश प्रवाह गर्न खोजिन्छ । नेताले निजी स्वार्थका लागि अनावश्यक घुसपैठ गरिदिँदा काम गर्न अप्ठेरो पर्छ । मधेशमा काम गर्नेलाई राजनीतिक हिसाबले हातखुट्टा बाँधेर कामै गर्न नदिने र अरूलाई असफल पारेर आफू सत्तामा पुग्ने दाउ चल्छ । मैले यी सबै कुराको पर्वाह नगरी काम गरिरहेको छु । आम नागरिकले साथ दिएकै छन् । मेरो कार्यकालमा गाउँपालिकालाई जिल्लाको एक नमुना पालिकाका रूपमा विकास गरेरै छाड्छु ।