चितवन समाचारदाता
चितवन, मङ्सिर २९ गते । चितवन जिल्लामा तीन वर्षयता मानव अधिकार उल्लङ्घन घटनाको दर्तामा कमी आएको पाइएको छ । मानव अधिकारसम्बन्धी काम गर्दै आएको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार भरतपुरमा सार्वजनिक गरेको तथ्याङ्कमा समग्र घटनाको दर्ता सङ्ख्यामा कमी आएको जानकारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले घटना दर्ता सङ्ख्यामा कमी आए पनि बालिकामाथि हुने यौन दुव्र्यवहारको घटना हरेक वर्ष वृद्धि हुँदै गएको जानकारी दिनुभयो । आफन्त, परिवार, चिनेका व्यक्तिबाटै यस्ता घटना हुने गरेको पाइएको प्रवक्ता पण्डितले बताउनुभयो । बालिकामाथि हुने बलात्कार, बहुविवाहलगायतका घटना वृद्धि भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी कार्यालयसम्म आएर रिपोर्ट नगर्ने तर समाजमा भने घटना भइरहने अवस्था अहिले रहेको उहाँले बताउनुभयो । सामाजिक अपराध, हत्या, बलात्कार जस्ता अपराधका विषयमा प्रहरी कार्यालयले समुदायस्तरमा शिक्षा कार्यव्रmम सञ्चालन गरेको प्रवक्ता पण्डितले बताउनुभयो ।
इन्सेकले सार्वजनिक गरेको विवरणमा सन् २०२१ मा बालिकामाथि हुने यौन हिंसाका घटना १८ वटा दर्ता भएका थिए । त्यो सङ्ख्या वृद्धि भएर सन् २०२३ मा ३२ जनामाथि यौन हिंसा भएको घटना दर्ता भएको छ । सन् २०२१ मा बालिकामाथि हुने बलात्कारको घटना २९ वटा दर्ता भएको मा सन् २०२३ मा यो सङ्ख्या वृद्धि भएर ३१ पुगेको इन्सेक प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
श्रीमान्ले कुटेर श्रीमती गम्भीर घाइते
चितवनको खैरहनी नगरपालिका–१०, कठारको मुसहर बस्तीमा श्रीमान्ले कुटेर एक महिलालाई गम्भीर घाइते बनाएका छन् । डेढ वर्षअघि सोही बस्तीमा एक महिलालाई पाठेघरमा हात घुसाएर निर्मम तरिकाले श्रीमान्ले हत्या गरेका थिए ।
कहालीलाग्दो घटना भएको बस्तीमै बुधबार साँझ २७ वर्षकी राधिका माझीलाई उहाँको श्रीमान् ३० वर्षका गर्भा माझीले रक्सी सेवन गरी कुट्दा श्रीमती गम्भीर घाइते हुनुभएको हो । राधिकाको टाउकोमा र दाहिने हातमा चोट लागेको छ । अत्यधिक मदिरा सेवन गरेका गर्भाले बन्चरोको बिँडले टाउको र हातमा हानेका थिए । राधिकाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । श्रीमान् गर्भा इलाका प्रहरी कार्यालय खैरहनीको हिरासतमा छन् । गर्भाले यसअघि पनि कुटपिट गर्दा राधिकाको दाहिने हात भाँच्चिएको थियो ।