• २३ वैशाख २०८२, मङ्गलबार

ग्लोबल आइएमईको नौ प्रतिशत लाभांश

blog

काठमाडौँ, मङ्सिर २९ गते । ग्लोबल आइएमई बैङ्कले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न बैङ्कको १७ औँ वार्षिक साधारण सभाले आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर गरी जम्मा नौ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । 

साधारण सभामा बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन अनुसार बैङ्कले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपियाँ र करपछिको मुनाफा छ अर्ब ६९ करोड रुपियाँ आर्जन गरेको छ । प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैङ्कको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपियाँ ८७ लाख पुग्ने छ । बैङ्कका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्क सरकार तथा नेपाल राष्ट्र बैङ्कको नीति निर्देशनको पालना गर्दै बैङ्कले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित रूपमा वृद्धि गर्दै जाने बताउनुभयो । 

यसै गरी उक्त साधारण सभाले संस्थापक सेयरधनी समूहबाट तीन जना र सर्वसाधारण सेयरधनी समूहबाट तीन जनासमेत जम्मा छ जना सञ्चालकको निर्वाचन गरेको छ । संस्थापक सेयरधनीमध्येबाट चन्द्रप्रसाद ढकाल अध्यक्ष चयन हुनुभयो । रामबहादुर भण्डारी र राधेश पन्त सदस्यमा निर्वाचित हुनुभएको छ भने सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित हुनुभएको जनाइएको छ ।