धर्बेन्द्र झा
धनुषा, मङ्सिर २८ गते । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्दबहादुर न्यौपानेले हरवाचरवाको पहिचान कायम गर्न प्रदेश सरकारले कामकाज अघि बढाएको बताउनुभएको छ ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको हरवाचरवा तथ्यांक संकलन र पहिचानको सवाल विषयक मधेश प्रदेश स्तरीय अन्तरसंवाद कार्यक्रममा मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो ।
उहाँले मधेश प्रदेश सरकारले हरवाचरवा विषयलाई आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरी मधेश प्रदेशमा हरवाचरवा छ भन्ने कुराको प्रमाणित गरिदिएको बताउनुभयो । प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा हरवाचरवाको विषयलाई समावेश गरी अधिकार सुनिश्चित गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विश्वकर्माले एक लाखको संख्यामा रहेका हरवाचरवाको समस्यालाई राज्यले वास्ता नगरेको आरोप लगाउनुभयो । हलिया र कमैयाको समस्या समाधान गरेजस्तै राज्यले हरवाचरवाको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा अधिवक्ता बलराम भटट्राईले राज्यले हरवाचरवाको लगत संकलन गरेर, प्रमाणिकरण गरी पहिचान कार्ड दिएर सोहीअनुरुपको कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।
द फ्रिडम फण्डका ब्रह्मदेव रामले विकासका सुचकांकहरुमा हरवाचरवा निकै पछाडि रहेको भन्दै तिनीहरुलाई राज्यले आफनो स्तरवाट सहयोग गर्नुपर्ने धराणा राख्नुभयो ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद सदाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी बक्ताहरुले धारणा राख्दै हरवाचरवा पुनःस्थापनाका लागि तत्काल तथ्यांक संकलन गरी परिचयपत्र वितरण गर्नु पर्ने बताउनुभएको थियो ।