• २७ वैशाख २०८२, शनिबार

न्यून बजेटले योजना सक्न उपभोक्तालाई सास्ती

blog

तीनपाटन गाउँपालिका–१० चकमकेमा सङ्घीय सरकारको सहयोगमा सञ्चालित खानेपानी योजना पूरा नभएपछि स्थानीय उपभोक्ता गाउँ नजिकै जरुवा कुवा(धारा)मा पानी भर्दै।

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, मङ्सिर २८ गते । सङ्घीय सरकारको सहयोगमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–७ महादेवस्थानमा तीन वर्षदेखि महादेवस्थान खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । 

तर वर्षेनी आउने न्यून बजेटले एक करोड रुपियाँभन्दा माथिको लागत रहेको उक्त बहुवर्षे खानेपानी योजना कति वर्षमा पूरा हुने भन्ने निश्चित नभएको स्थानीय उपभोक्ताको गुनासो छ । 

उक्त योजनाका लागि यो वर्ष पनि २५ लाख रुपियाँ बजेट आएको र योजनाको काम सुरु गर्न चार पटकसम्म जाँदा पनि सम्झौता हुन नसकेको उक्त योजना उपभोक्ता समितिका अध्यक्ष ईश्वर थिङले गुनासो गर्नुभयो । उहाँका अनुसार उक्त योजनाको कार्यान्वयन खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ रामेछाप फिल्ड कार्यालय सिन्धुलीले गरेको छ । "योजना सम्झौता गर्न यो वर्ष मात्रै उक्त कार्यालयमा चार पटक गई सक्यौं," उहाँले भन्नुभयो, "कहिले इन्जिनियर छैन भन्छ, कहिले के भन्छ । उसैले समय दिएको छैन ।"

उक्त योजनाका लागि गत वर्ष पनि ३० लाख रुपियाँ बजेट आएकोमा ढिलासुस्तीकै कारण झण्डै २३ लाख रुपियाँ बराबरको काम भएको र बाँकी बजेट फ्रिज भएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार एक घर, एक धारा हुने गरी निर्माण सुरु गरिएको उक्त योजनाको काम झण्डै ७० प्रतिशत सकिएको छ । महादेवस्थान खानेपानी योजना निर्माण पूरा हुदा १२५ घर परिवारलाई खानेपानी सुविधा पुग्नेछ ।

फिक्कल गाउँपालिका–३ मा सञ्चालित चनौटे–गिनीचौर खानेपानी योजनाको अवस्था पनि उस्तै छ । सङ्घीय सरकारको सहयोगमा सञ्चालित बहुवर्षीय उक्त योजना पनि दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । उक्त योजनाका लागि यो वर्ष सात लाख रुपियाँ आएको उक्त योजना उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर कार्कीको गुनासो छ । 

"चनौटे–गिनीचौर खानेपानी योजना पूरै वडाका वासिन्दालाई खानेपानी खुवाउने गरी सञ्चालिन योजना हो," उहाँले भन्नुभयो, "यो योजनाको काम खण्ड खण्डमा भइरहेको छ । तर वर्षेनी आउने न्यून बजेटले काम नै देखिँदैन । झगरे–खुरहरी खण्डको काम पनि अधुरो अवस्थामा छ ।" उक्त योजना स्वीकृत भएको १२ वर्ष जति भएको र अहिलेसम्म पाँच वटा खण्डको काम सकिएको उहाँले जानकारी दिनुभयो । उपभोक्ता समितिका अध्यक्ष कार्कीका अनुसार तर वर्षेनी आउने न्यून बजेटले उक्त योजना पूरै निर्माण सम्पन्न गर्न कति वर्ष लाग्ने भन्ने सास्ती खेप्नुपरेको छ । पूरै योजना सम्पन्न हुँदा उक्त वडाका पाँच सयभन्दा बढी घर धुरीले खानेपानी सुविधा पाउनेछन् ।

खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ रामेछाप फिल्ड कार्यालय सिन्धुलीका अनुसार सङ्घिय सरकारको सहयोगमा जिल्लामा यो वर्ष तीन वटा शीर्षकमा ४६ वटा खानेपानी योजना सञ्चालन हुने भएका छन् । पुनस्र्थापना कार्यक्रम अन्तर्गत २३ वटा, गुणस्तर सुधार कार्यक्रम अन्तर्गत एउटा र जलवायु अनुकूल बृहत् खानेपानी कार्यक्रम अन्तर्गत २२ वटा योजना छन् ।

पुनःस्थापना कार्यक्रमका योजनालाई छ लाख ५० हजार रुपियाँका दरले, गुणस्तर सुधार कार्यक्रमको योजनालाई २० लाख रुपियाँ र जलवायु अनुकूल बृहत् खानेपानी योजनालाई एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्मका दरले बजेट विनियोजन भएको कार्यालय प्रमुख मनोजकुमार मण्डल बताउनुहुन्छ ।

बजेट नै थोरै आएकाले ती योजना यो वर्ष सम्पन्न गर्न नसकिने उहाँको गुनासो छ । कार्यालय प्रमुख मण्डलका अनुसार ती योजना यो वर्ष कार्यान्वयनका लागि धमाधम उपभोक्ता समितिसँग सम्झौता सुरु भएको छ ।