• १३ असोज २०८१, आइतबार

उद्देश्य अनुरूप काम गर्दैनन् लघुवित्त

blog

मुगु समाचारदाता 

मुगु, मङ्सिर २८ गते । जिल्लाका ग्रामीण भेगका समुदायलाई आयआर्जन कार्यक्रममा लगानी गरी कृषकलाई स्वरोजगार गर्ने उद्देश्यले विस्तार भएका लघुवित्त वित्तीय संस्थाले उद्देश्य अनुरूप कार्यक्रम सञ्चालन नगर्दा यहाँका विपन्न परिवारका सदस्य यस्ता संस्थाको सेवाबाट वञ्चित भएका छन् ।

जिल्लामा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयले जिल्लाको छायानाथ रारा नगरपालिकाका विभिन्न ग्रामीण बस्तीमा काम गर्दै आएका छन् । 

एनआइसी लघुवित्त मुगु शाखाका प्रबन्धक अजय रोकाया हिमाली जिल्लाको हकमा कार्यालय स्थापना भएको ठाउँबाट १२ किलोमिटरभित्र वित्तीय समूह गठन गर्ने नीति रहेको बताउनुहन्छ । एनआइसीले छायानाथ रारा नगरपालिका–१ देखि १० सम्म ५७ वटा वित्तीय समूह गठन गरेको उहाँको भनाइ छ । उक्त समूहमा ४५० जना सदस्य आबद्ध रहेको उहाँले बताउनुभयो ।

सोरु गाउँपालिका–४ का स्थानीय समाजसेवी हंशबहादुर शाहीले वित्तीय कार्यक्रममार्फत जिल्लाका ग्रामीण बस्तीका परिवारलाई गरिबी निवारण गर्ने उद्देश्यले जिल्लामा रहेका ती लघुवित्त वित्तीय संस्थाले उद्देश्य अनुरूप काम नगरेका बताउनुहुन्छ । “सोरुका ग्रामीण भेगका बस्तीमा त्यस्ता संस्थाले वित्तीय कार्यक्रम सञ्चालन नगर्दा यहाँका समुदाय वित्तीय पहुँचमा आउन सकेका छैनन्, जसका कारण यस क्षेत्रका नागरिकको दैनिक आयआर्जनमा समस्या आएको छ,” उहाँले भन्नुभयो ।

महिलाको वित्तीय क्षेत्रमा विकास गर्नका लागि सम्बन्धित निकायले वित्तीय क्षेत्रको लक्ष्य र उद्देश्य अनुसार कार्यक्रम विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।

डिप्रोक्स लघुवित्त मुगु शाखाका कार्यालय प्रबन्धक डिलबहादुर शाहीले छायानाथ रारा नगरपालिका–१ देखि १४ सम्म एक सय वटा वित्तीय समूहमा ४३१ जना सदस्य आबद्ध रहेको बताउनुभयो । समूहमा आबद्ध सदस्यले आयआर्जनबाट उद्यमी हुनलाई लघुवित्तको नीतिनियम अनुसार बिनाधितो मासिक १५ प्रतिशतले ब्याज बुझाउने गरी एक लाखदेखि दुई लाख रुपियाँसम्म कर्जा लिएको उहाँले बताउनुभयो । 

प्रबन्धक शाहीले भन्नुभयो, “लघुवित्तहरू ग्रामीण क्षेत्रमा थोरै पुँजी परिचालन गरेर सञ्चालित हुन्छन् । यस्ता बैङ्कहरू जनताको घरदैलोमै पुगेर वित्तीय चेतनाको विकास गर्ने एवं थोरै ऋण प्रवाह गर्ने गर्छन् ।”

बेरोजगारीको समस्यासँग जुधिरहेका युवालाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्था अग्रसर रहेको उहाँको दाबी छ । “केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको छ,” उहाँले भन्नुभयो ।

यता नागरिक समाजका अभियन्ता रूपबहादुर मल्लले नगरभित्रका बस्तीमा मात्र वित्तीय कार्यक्रम सीमित नभई जिल्लाका अन्य सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाका ग्रामीण बस्तीमा यहाँका महिलाको आयस्तर वृद्वि गर्नलाई जिल्लाका वित्तीय संस्थाहरूले कार्याक्रम लागु गर्नुपर्ने उहाँले सुझाव दिनुभएको छ ।

जिल्लाका तीन सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाका ग्रामीण बस्तीमा लघुवित्तले उद्देश्य अनुसार महिलाको आयस्तर बढाउने खालको काम गर्न नसकेको गुनासो छ ।