• १६ असार २०८१, आइतबार

मुख्यमन्त्रीको गाडीमा क्षति गरेको आरोपमा एक पक्राउ

blog

तोडफोडले सिसा फुटेको मुख्यमन्त्री कार्कीको गाडी ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २७ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको सवारी साधन तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पक्राउ गरेको छ । 

मङ्गलवार दिउँसो दमक आउनुभएका मुख्यमन्त्री कार्कीको गाडीमा ढुङ्गा र मुक्का प्रहार गरेर सिसा फुटाएको घटनामा संलग्न रहेको प्रमाणको आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चौधरीलाई अर्जुनधारा नगरपालिका –८ बाट साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै आएका आफूलाई पहिचानवादी बताउने समूहले मुख्यमन्त्री कार्कीलाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडी मोडिनेबित्तिकै दमकको सगरमाथा पेट्रोल पम्पनजिक बरगाछीमा रोक्ने प्रयास गरेका थिए । 

केहीले गाडीमा ढुङ्गा हानेर र मुक्का तथा पञ्जाले सिसा फुटाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार मुख्यमन्त्री कार्कीको गाडी रोक्ने प्रयास र सिसा फुटाउने घटनामा संलग्न रहेको पाइएकाले चौधरीलाई पक्राउ गरिएको हो । सो घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उहाँले जनाउनुभएको छ । अहिले चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।