• १५ मंसिर २०८१, शनिबार

जनतासँग गुगल फर्ममार्फत सुझाव माग्नुहुँदै सदस्य महर

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर

काठमाडौं, मङ्सिर २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत सर्भेक्षण गर्ने हुनुभएको छ । जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई जोडदारका साथ उठाउने बताउनुभयो ।

उहाँले नीति महाधिवेशनमा कुन–कुन विषय उठाउनुपर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गर्नुभयो ।

नेता महरले आठ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताउनुभयो ।

‘‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ । हामीले अधिकांश जनताको सुझाव लिनुपर्छ । पार्टीले नै यो काम गर्नुपर्थो । तर ढिलो भइसकेकाले, कसैन कसैले त गर्नै पर्ने भयो । त्यसैले मैले यो व्यवस्था गरेको हुँ । म क्रियाशील सदस्य, शुभेच्छुक र जनताबाट प्राप्त सुझावलाई नै नीति महाधिवेशनमा उठाउनेछु,’’ उहाँले भन्नुभयो ।

साथै उहाँले कांग्रेसका आठ वटै तहबाट आगामी गन्तव्य कस्तो बन्नुपर्छ भन्नेमा धारणा लिनुपर्छ भनेर आफूले केन्द्रीय कार्यालयमा माग–पत्र दर्ता गरेमा त्यस्तो हुन नसकेको गुनासो गर्नुभयो ।

महरले विभिन्न १८ वटा सुझाव राख्दै गुगल फर्म सार्वजनिक गर्नुभएको हो । विद्यमान राजनीतिक व्यवस्थाप्रति भइरहेका नकारात्मक टिप्पणी तपाईंलाई कस्तो लाग्छ ?, व्यवस्थाप्रति नै नकारात्मकता देखिनुका कारण के होला ? लगायत उहाँले १८ वटा प्रश्नमा सुझाव माग गर्नुभएको छ । 

केन्द्रीय सदस्य महरले कांग्रेस निर्वाचन जित्नमात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउन नेतृत्व सक्रिय हुनुपर्ने जिकिर गर्नुभयो ।

‘‘नेपाली कांग्रेसलाई अब गठबन्धन बिनै २०८४ मा बहुमत ल्याउन सक्ने पार्टी बनाउनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’’ महर भन्नुहुन्छ, ‘‘त्यसका लागि हामी जनतामाझ नै जाने हो । उहाँहरूका कुरा सुन्ने हो । जनपेक्षा अनुसार काम गर्ने हो । त्यसपछिमात्र हामी बहुमत प्राप्त गर्न सक्छौं ।’’

नेपालमा राजनीतिक दल पारदर्शी नभएको गुनासो नागरिकमा व्याप्त रहेको समयमा अब जनताका माझमा जानुपर्ने र उनीहरूकै अनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने महरको भनाइ छ ।