• २६ वैशाख २०८१, बुधबार

यू–१९ एसिया कप : झिनो सम्भावनाबिच भारतलाई हराउने चुनौती

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर २५ गते । एसिसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मङ्गलबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा हुने खेलमा नेपाल भारतसँग झिनो सम्भावनाबिच जित्नै पर्ने दबाब छ । समूहको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । 

नेपालले दुवै खेलमा ब्याटिङमा कमजोरी गरेको थियो । समूह ‘ए’ मा नेपाल अङ्कविहीन बन्दै अन्तिममा छ । चार अङ्क बनाएको पाकिस्तान शीर्षस्थानमा छ । यस्तै दुई अङ्क बनाएको भारत दोस्रो र समान दुई अङ्क नै बनाएको अफगानिस्तान नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ । 

यदि नेपालले मङ्गलबार भारतलाई फराकिलो अन्तरले हराएमा अगाडि बढ्ने सम्भावना छ । भारतलाई नेट रनरेटमा पछि पार्न सकेमा र अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पनि फराकिलो अन्तरले हराएमा नेपाल अगाडि बढ्नेछ । अहिले नेपालको नेट रनरेट माइनस २.०२४ छ । अफगानिस्तानको नेट रनरेट ०.२०३, भारतको ०.४५४ र पाकिस्तानको १.५६३ रहेको छ । भारत दोस्रो खेलमा पाकिस्तानसँग आठ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनलमा पुग्ने अङ्कगणितीय झिनो सम्भावना रहेको हो । 

एसिया कपको समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  सेमिफाइनल खेल मङ्सिर २९ र फाइनल खेल पुस १ गते हुनेछ । एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ ।