• १२ साउन २०८१, शनिबार

सङ्घीयता कार्यान्वयनतर्फ हामी सबै लाग्नुपर्छ : सभापति देउवा

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, मङ्सिर २५ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका साथ सङ्घीयताको सफल कार्यान्वयन गराउनतर्फ हामी सबै लाग्नुपर्ने बताउनुभएको छ । 

कांग्रेस धनुषाले सोमबार धनुषाको औरही गाउँपालिकामा आयोजना गरेको  धनुषा क्षेत्र नं. २ का पूर्व सभापति राजकिशोर सिंहको सालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले राष्ट्रिय सहमतिका साथ सफल कार्यान्वयन भएमा सङ्घीयता सबल र मजबुत हुने बताउनुभयो । उहाँले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा काँग्रेस नेता स्वर्गीय सिंहको भूमिका महत्त्वपूर्ण भएको भन्दै सिंहका परिवारलाई कुनै प्रकारको सहयोगको आवश्यकता परेमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले देशमा संविधान जारी भएर दुई पटक निर्वाचन समेत भइसक्दा पनि अझ तत्काल गर्न सक्ने दुईवटा महत्त्वपूर्ण काम गर्न बाँकी रहेको बताउनुभयो । 

उहाँले राजनीतिक रूपमा तत्काल गर्नुपर्ने काममा सातवटै प्रदेशलाई आफ्नो प्रहरी सङ्गठन र कर्मचारीको व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले सुरक्षा निकाय र कर्मचारी दुवै भएमा मात्र प्रदेश सरकारलाई सरकार भन्न मिल्ने भन्दै यस विषयलाई कांग्रेसले आफ्नो महासमिति बैठकमा लग्नुपर्ने बताउनुभयो । 

नेपालमा भएको हरेक आन्दोलन र क्रान्तिमा मधेशले योगदान गरेको चर्चा गर्दै कांग्रेस नेता निधिले मधेशले गरेको योगदानलाई कदर गर्न वर्तमान सरकारलाई आग्रह गर्नुभयो । उहाँले मधेशमा काँग्रेस बलियो भए देशमा काँग्रेस बलियो हुने चर्चा गर्नुभयो ।  

कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले सङ्घीयतालाई कमजोर गर्न विभिन्नखालका षडयन्त्र भइरहेको भन्दै सङ्घीयता ल्याउनमा कांग्रेसकै ठुलो योगदान भएको चर्चा गर्नुभयो । कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस अनुशासन समितिका संयोजक आनन्द ढुङ्गाना, पूर्व केन्द्रीय सदस्य रामकृष्ण यादव, स्वर्गीय सिंहका कान्छा छोरा डा. कुनाल सिंह, क्षेत्र नंं. २ का क्षेत्रीय सभापति नवीन गोहिबारसहितका नेताहरूले बोल्नुभएको थियो । 


कार्यक्रममा सभापति देउवाले कांग्रेस नेता स्वर्गीय सिंहको सालिक अनावरण पश्चात् स्वर्गीय सिंहका धर्मपत्नी इन्द्रादेवी सिंह, छोरा सन्दीप सिंह र डा. कुनालसिंह र छोरीहरू नितु सिंह र अनु सिंहलाई फूलको माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।