• १३ मंसिर २०८१, बिहिबार

२२ असहाय परिवारलाई अस्थायी आवास

blog

भूकम्पपीडित एकल महिला तथा विपन्न परिवारका घर निर्माण गर्दै समाजसेबी विष्णु ऐडी नेतृत्वको टोली । तस्बिर – शैलेन्द्र रोकाया

शैलेन्द्र रोकाया 

बझाङ, मङ्सिर २३ गते । मस्टा गाउँपालिका–१, लेकी गाउँकी चाखुडी रोकायाको भूकम्पका कारण घर भत्कियो । केही वर्ष पहिले नै श्रीमान् गुमाएकी एकल महिला रोकायाको घर भत्काएपछि दुई छोरी र एक छोरासहित कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमा रात काट्न बाध्य हुनुभएको थियो ।  

बेसहारा अवस्थामा रहेकी उहाँको अवस्था थाहा पाएर समाजसेवी विष्णु ऐडीको  समूहले टिनको नयाँ टहरो बनाएर दियो । ‘हामीलाई सहयोग गर्ने कोही थिएनन् । आफ्नै खर्चले बनाउन सक्ने क्षमता थिएन’ चाखुडीले भन्नुभयो, ‘भूकम्पले घर भत्काएपछि अब सधैँ पालमा बस्नु पर्ने भयो भन्ने पिरले रातदिन निदाउन सकेकी थिइनँ । 

घर बनाउने सहारा कोही नभएपछि कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता थियो । दुखिलाई ईश्वरले पनि हेर्छ भनेको साँच्चै रहेछ’ टिनको अस्थायी टहरामा बस्न थालेपछि आफ्नो परिवार जाडो कसरी कटाउँला भन्ने चिन्ताबाट मुक्त भएको उहाँले सुनाउनुभयो ।

भूकम्पका कारण घर भत्केर मष्टा गाउँपालिका–२ डुग्रीकी एकल महिला बेलमति विष्टको त्रिपालमुनि बास बस्दै आउनुभएको थियो । आर्थिक रूपले विपन्न रहेकी विष्टको कोही पनि सहारा थिएनन् । समाजसेवी तथा नेपाली कांग्रेसको भातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्य समेत रहेका विष्णु ऐडीले एकल महिला तथा विपन्नका लागि अस्थायी घर बनाउने अभियानको सुरुमै विष्टको अस्थायी घर बनाइ दिएपछि विष्ट परिवारमा भूकम्पले खोसेको खुसी केही हदसम्म भए पनि फर्कियो । 

बेलमती विष्टले भन्नुभयो, “बिहानै भत्केका घरहरू हेर्दै आउनुभएको थियो । हामी त्रिपालमा बसेका देखेर सोधपुछ गर्नुभयो । टहरा बनाइदिने आश्वासन दिनुभयो । कहिले फर्केर आउलान्जस्तो लागेको थियो । दिउँसै आएर बनाइ दिनुभयो । अब अर्को घर नबनाउन्जेल बस्न मिल्ने भएको छ ।” 

ऐडीसहित उहाँका शुभचिन्तकको टोलीले टिनको अस्थायी घर एक दिनमा निर्माण गरिदिएपछि विष्ट परिवारमा खुसीयाली छायो । उहाँले भन्नुभयो, ‘चिसो मौसममा रात काट्न निकै गाह्रो थियो । अहिले टिनको घर बनेपछि ढुक्कले सुत्न पाएका छौँ ।  विष्टका परिवारले तीन वर्षको भारतको कमाइबाट गाउँमा पक्की घर बनाउनुभएको थियो । तर, गत महिनाको भूकम्पले क्षतविच्छेद भएपछि चौरमा बस्नुहुन्थ्यो ।’

अहिलेसम्म राहतको नाममा एउटा त्रिपाल र एक जोर लुगाबाहेक कसैले केही नपाएको गुनासो सुनाउनुभयो । जयपृथ्वी नगरपालिका–७ सुवेडा घर भएका वर्ष १३ का शिव भण्डारी विपन्न परिवारका एकल सदस्य हुनुहुन्छ । घरका मुली दुवै बुवा आमा गुमाएपछि टुहुरा हुनुभयो । 

भण्डारी बस्ने घर भूकम्पले भत्काएपछि छिमेकीसँग बस्दैआएका थिए । पीडालाई मध्येनजर गरी समाजसेवी ऐडीको नेतृत्वको टोलीले घर निर्माण गरिदिएको छ । त्यस्तै ऐडिले मष्टा गाउँपालिका–१ एकल महिला दुर्गा खड्का र लक्ष्मी रावल र जयपृथ्बी नगरपालिका–११ का इजरायलको बम आक्रमणमा परी मृत्यु भएका गणेश नेपालीको घर समेत बनाइ दिनुभएको छ । 

ऐडीको टोली अहिले पनि विपन्न परिवारका अस्थायी आवास बनाउन मै व्यस्त हुनुहुन्छ । केही मनकारी युवाहरू सहितको टोलीले एकल, असहाय तथा विपन्न नागरिकका २२ वटा अस्थायी आवास निर्माण गरिसकेको छ भने आफैँ निर्माण कार्यमा जुटिरहेको छ । 

भूकम्पले भत्काएको ठाउँमा ऐडीको टोलीले शुभचिन्तक साथी भाइ र सँगैपढेका सहपाठीका सहयोगले अहिले ऐडिको टिमलाई ऊर्जा मिलेको छ ।  ऐडीले भन्नुभयो, “भूकम्पले जिल्लामा धेरै क्षति गरेपछि चिसो मौसममा त्रिपालमुनि बसेका कारुणिक तस्बिरले आफूलाई निकै भाव विह्वल बनाएकाले सुरुमा आफ्नै लगानीले अस्थायी टहरा बनाउन सुरु गरेको थिएँ । केही शुभचिन्तक, आफन्तजन र साथीभाइको सहयोग जुटिरहेको बताउनुभयो । 

अहिलेसम्म २४ वटा अस्थायी आवास बनाइ सकेको र अझै यो अभियान निरन्तर रहने उहाँले बताउनुभयो । विषेशगरी आफन्त नभएका एकल महिला, विपन्न परिवारलाई आफैले गएर स्थलगत अवलोकनपछि मात्र अस्थायी घर बनाउनेगरेको समेत बताउनुभयो । 

राज्य नपुगेको ठाउँमा ऐडीको दरिलो उपस्थितिले भूकम्पपीडिलाई मलमपट्टिको काम मात्र नगरेर राजनीति र समाजसेवा गर्नेलाई समेत चुनौती दिएको छ । ऐडीको नेतृत्वको टोलीले अहिले जिल्लाभरि २४ वटा अस्थायी आवास बनाएको छ । 

गत असोज १६ गते आएको भूकम्पले बझाङमा १२ हजारभन्दा बढी संरचनामा क्षति भएको थियो । थलारागाउँपालिका, खप्तडछान्ना, जयपृथ्वी, मष्टा, तलकोट, केदारस्यू, सुर्मा गाउँपालिकामा दुई–दुई हजारभन्दा बढी संरचनामा क्षति पुगेको थियो ।