बनेपा समाचारदाता
बनेपा, मङ्सिर २० गते । धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्ना शैक्षिक कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । सोही क्रममा केयुले हङकङमा चारवर्षे ‘ब्याचलर अफ बुद्धिस्ट स्टडिज’ (स्नातक तहमा चारवर्षे बौद्ध शिक्षा) कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
केयुले नमोबुद्ध बुद्धिस्ट मेडिटेसन एन्ड एजुकेसनल सेन्टरमार्फत हङकङमा सञ्चालित थ्राङ्गु वज्रयान बुद्धिस्ट सेन्टर कुनटोङमा चारवर्षे ब्याचलर अफ बुद्धिस्ट स्टडिज अध्यापन गर्न मङ्गलबार सम्झौता भएको छ । हङकङमा सन् २०२४ देखि स्नातक तहमा बुद्धिस्ट स्टडिज (बौद्ध शिक्षा) को पढाइ सुरु गर्ने र त्यसका लागि विश्वविद्यालयले पाठ्यक्रम विकास गर्ने, पढाइको गुणस्तरको अनुगमन तथा नियन्त्रणका साथै परीक्षासमेत विश्वविद्यालयको नियम अनुसार हुने काठमाडौँ विश्वविद्यालय उपकुलपति कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एउटा वर्षमा बढीमा २० विद्यार्थीलाई पठनपाठन गराउन सकिने छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा एउटा इँटा थप्ने काम भएको बताउनुभयो । “अहिले पनि गुम्बाहरूमा बौद्ध परम्पराबाट शिक्षा दिइएको छ, परम्परागत रूपमा दिइएको बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोडेर विश्वविद्यालयको डिग्री दिने उद्देश्यले हङकङमा स्नातक तहमा बौद्ध शिक्षा दिने सम्झौता गरिएको हो,” उपकुलपति प्राडा थापाले भन्नुभयो । उहाँले यसअघि भारतमा रहेको तिरुपति बालाजीमा गत वर्षदेखि स्नातक तहमै ‘योगिक साइन्स एन्ड वेल विइङ’ को अध्यापन सुरु भएको भन्दै हाल तिरुपति बालाजीमा छ विद्यार्थी अध्ययनरत रहेका बताउनुभयो ।
यसैबिच जिल्लाको पनौती नगरपालिकामा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा आर्किटेक्चर इन्जिनियरिङ विषय अध्ययन, अध्यापन गराउने सम्झौता भएको छ । सोमबार काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीबिच सम्झौता भएको हो । केयु र नगरपालिकाबिच पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर प्राथमिक विद्यालयको खाली भवन र त्यसले चर्चेको कित्ता नम्बर ८० को जग्गा विश्वविद्यालयलाई भोगाधिकारसहित हस्तान्तरण गर्ने सहमति भएको विश्वविद्यालयले जनाएको छ ।
दुईपक्षीय सम्झौतामा विश्वविद्यालयले भौतिक संरचनाको जीर्णोद्धार गर्ने, हालको भौतिक संरचनामा फेरबदल गर्न चाहेमा वडाको मञ्जुरी लिनुपर्ने, वडाभित्र रहेका प्राचीन सम्पदाहरूको संरक्षण गर्ने सिलसिलामा विभिन्न नक्साङ्कनसम्बन्धी कार्य विश्वविद्यालयले निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने उल्लेख छ । यसै गरी सम्झौतामा आर्किटेक्चर विषयमा पढ्न योग्यता पुगेका र विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका आवेदकमध्ये जेहेनदार र आर्थिक अवस्था कमजोर भई वडा नं. ७ मा स्थायी बसोबास भएका एक विद्यार्थीलाई वडाको सिफारिसमा विश्वविद्यालयले ५० प्रतिशत र अन्य वडाहरूमध्येबाट एक जनालाई ५० प्रतिशत शुल्कमा अध्ययन गराउनुपर्ने उल्लेख छ ।
त्यसै गरी विश्वविद्यालय र नगरपालिकाबिच भएको सम्झौतामा वडा कार्यालयको सिफारिसमा विश्वविद्यालयले इन्द्रेश्वर उच्च माविमा सञ्चालन भइरहेको विज्ञान विषयको पढाइमा आवश्यक सहयोग गर्ने तथा विश्वविद्यालयले वडाको मातहत रहेको भवन र जग्गा १५ वर्षका लागि भोगचलन गर्न पाउने उल्लेख छ । केयुका उपकुलपति प्राडा थापाले यो सम्झौताले धुलिखेलभित्र अध्ययन, अध्यापन हुँदै आएको विषयलाई जिल्लाका अन्य स्थानीय तहमा समेत विकेन्द्रीकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।