• १२ असोज २०८१, शनिबार

गुणस्तरीय शिक्षाका लागि लगानी गर्दै युडब्लुएस नेपाल

blog

युडब्लुएसले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको अन्तक्र्रियाका सहभागी। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १९ गते। ताप्लेजुङमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपाल नामक संस्थाले गुणस्तरीय शिक्षा लक्षित परियोजनामा लगानी गर्ने भएको छ। गुणस्तरीय शिक्षा प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित युडब्लुएस नेपालले आफ्नो परियोजना (कार्यक्रम) सञ्चालन गरी भौतिक पूर्वाधार लगायतमा लगानी गर्ने भएको हो।

गुणस्तरीय शिक्षा प्रवद्र्धनको परियोजना दुर्गम क्षेत्रहरुमा केन्द्रित गरिने पनि सो संस्थाले जनाएको छ। सामुदायिक विद्यालयअन्तर्गत आधारभूत तहमा अध्ययनरत बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्य राखेर संस्थाले आफ्नो गतिविधि गर्दै आएको युडब्लुएस नेपालका अध्यक्ष खेमराज खड्काले जानकारी दिनुभयो। खड्काका अनुसार विद्यालय भवन, शौचालय सहितका संरचना साथै प्रविधिमैत्री सिकाइमा संस्थाले आर्थिक लगानी गरिरहेको छ।

२०७२ सालमा स्थापना भएको संस्थाले हाल संखुवासभा, गुल्मी र ताप्लेजुङ जिल्लामा परियोजना कार्यान्वयनमा रहेको अध्यक्ष खड्काले बताउनुभयो। परियोजना कार्यान्वयनमा आएयता हालसम्म ७६ वटा विद्यालय भवन निर्माण भइसकेका पनि उहाँले जानकारी दिनुभयो। उक्त सङ्ख्यामध्ये ताप्लेजुङमा पाँचवटा विद्यालयमा भवन निर्माण सम्पन्न गरेको संस्थाले जनाएको छ। 

यस्तै भवनसहितका पूर्वाधार निर्माण र संस्थाले गरेको अन्य गतिविधिबाट तीनवटा जिल्लाका १३ हजार ९२८ जना विद्यार्थी लाभान्वित भएका पनि संस्थाले जनाएको छ। गुणस्तरीय शिक्षा प्रवद्र्धनको परियोजना ताप्लेजुङमा दुई वर्षअघि अर्थात सन् २०२१ देखि कार्यान्वयनमा रहेको र अझै आगामी तीन वर्षसम्म परियोजना कार्यान्वयनमा रहने संस्थाले जानकारी दिएको छ। 

आगामी तीन वर्षसम्म परियोजना रहने भएपछि संस्थाले मङ्गलबार गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा युडब्लुएस नेपाल र स्थानीय तहको भूमिकाबारे समीक्षात्मक अन्तक्र्रिया गरेको छ। स्थानीय तहका पदाधिकारीसहित सरोकारवालाहरुको सहभागितामा भएको अन्तक्र्रियामा संस्थाको भूमिका र परियोजनाबारे कार्यक्रम संयोजक अभिनाश झाले प्रस्तुति राख्नुभएको थियो। कार्यक्रममा गुणस्तरीय शिक्षा प्रवद्र्धनको कार्यमा सबैले जुट्नुपर्ने आवश्यक रहेकोमा जोड दिइएको थियो। 

परियोजना कार्यान्वयनमा संस्था र सम्बन्धित स्थानीयबीच सहकार्य र साझेदारीको विषयमा बृहत  छलफलसमेत गरिएको छ। यता परियोजना कार्यान्वयनका विषयमा अन्तक्र्रियासँगै प्रभावकारी कार्यान्वयनका लागि जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा एक परियोजना कार्यान्वयन कार्यदल पनि निर्माण गरिएको छ। 

कार्यदलमा सबै स्थानीय तहका प्रमुख वा अध्यक्ष सदस्य रहनुभएको छ। त्यस्तै जिल्लामा क्रियाशील संस्था ह्युमन प्राक्टिस फाउन्डेसन र रिड नेपालका प्रतिनिधि पनि सदस्य रहने छन् भने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कार्यदलको सदस्य सचिव रहनुहुने छ। संस्थाका अनुसार कार्यदलले परियोजनाको काम प्रभावकारी भए नभएको र सुधारात्मक कार्यका लागि नियमित अनुगमन तथा निरीक्षण गर्ने छ।

परियोजनाअन्तर्गत भवन निर्माण गर्दा आधारभूत तहको कक्षा १–५ सम्मको विद्यालयमा आठ कोठे र १–८ कक्षा सञ्चालित विद्यालयमा ११ कोठे भवन निर्माण गर्ने गरेको संस्थाका शिक्षा विभाग प्रमुख आशिष अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माण गर्दा ढुङ्गा, गिटी, बालुवा, काठ लगायतका आवश्यक सामग्री सम्बन्धित स्थानीय तह वा विद्यालयले उपलब्ध गराउनुपर्ने छ।

वित्तीयसहित निर्माणकर्मी, सिमेन्ट, जस्तापाता लगायतका सामग्री जुटाउने कार्य संस्थाले नै गर्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै प्रविधि सहितको सिकाइ, खेलकुद सामग्री, दक्ष शिक्षकका लागि तालिम र बिद्यार्थी सहयोग कार्यक्रमसहितका गतिविधि पनि संस्थाले गर्ने उहाँको भनाइ छ। परियोजना युकेएड नामक अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहयोगबाट कार्यान्वयनमा आएको युडब्लुएसले जनाएको छ। हाल परियोजना कार्यान्वयनमा रहेका जिल्लाबाहेक भोजपुर, हुम्ला लगायतमा विस्तार गर्ने तयारी रहेको पनि युडब्लुएसका अध्यक्ष खड्काले जानकारी दिनुभयो।