• १२ पुस २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

blog

फाइल तस्बिर

महोत्तरी, मङ्सिर १९ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरीको बर्दिबास आइपुग्नुभएको छ ।

अध्यक्ष प्रचण्ड बिहान ९ बजेदेखि बर्दिबास-४ माइस्थानमा दलको तीनमहिने रुपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहनुभएको माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लीलामणि पोखरेलले बताउनुभयो । 

उहाँले बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रुपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको जानकारी दिनुभयो । प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष प्रचण्डले थप निर्देशन दिनुहुनेछ । 

अध्यक्ष प्रचण्ड आजै दिउँसो जिल्लाको गौशाला-५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनुहुनेछ । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्कनुहुनेछ  । रासस