रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर १९ गते । गुल्मीमा कर्मचारी मिलन केन्द्रद्वारा प्रकाशित डायरीको विमोचन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको सभा हलमा एक औपचारिक कार्यक्रमका बीच जिल्ला न्यायाधीश तथा मिलन केन्द्रका मानार्थ संरक्षक वसन्तराज पौडेल र प्रमुख जिल्ला अधिकारी तथा मिलन केन्द्रका संरक्षक टेकबहादुर केसीले मिलन केन्द्रद्वारा प्रकाशित डायरीको विमोचन गर्नुभएको हो ।
प्रकाशित मिलन केन्द्र डायरीमा कर्मचारी मिलन केन्द्र र गुल्मी जिल्लाको परिचय, जिल्लाको संक्षिप्त जनसांख्यिक विवरण समावेश गरिएको छ । स्थानीय जनप्रतिनिधि, यस जिल्लाबाट प्रदेश र संघमा प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधि, जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, एम्बुलेन्स सेवाका लागि सम्पर्क नम्बर, स्थानीय तहको संक्षिप्त चिनारीसहित जिल्लाका प्रसिद्ध धार्मिक र पर्यटकीय क्षेत्रहरुको तस्बिरसहितको चिनारी समावेश गरिएको कर्मचारी मिलन केन्द्र गुल्मीका अध्यक्ष हरिप्रसाद गैरेले बताउनुभयो ।
कर्मचारीको हकहित, वृद्धि विकासमा मात्र नभएर जनतालाई परेको विभिन्न विपद्कोबेला उद्धारमा समेत जुट्दै आएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख सुरेन्द्र भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय डायरी प्रकाशन समितिले हाललाई १२ सय प्रति मिलन केन्द्र डायरी प्रकाशन गरेको छ । जसमा ५०÷५० प्रति जिल्लाका १२ वटै स्थानीय तहमा पठाइनेभएको छ । मिलन केन्द्रमा आबद्ध हुने नयाँ सदस्य र मिलन केन्द्रसँग आबद्ध हुनुभएका जिल्लामा आउनुहुने पाहुनाहरुलाई पनि मायाको चिनो स्वरुप यो डायरी प्रदान गरिने गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका गैरेले बताउनुभयो ।
कर्मचारी मिलन केन्द्रले निकै सिर्जनशील कार्य गरेको भन्दै जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख भरत सापकोटाले धन्यवाद दिनुभयो । मिलन केन्द्रका संरक्षक जिल्ला न्याधिश पौडेल र प्रमुख जिल्ला अधिकारी केसीले कर्मचारी मिलन केन्द्रले निकै रचनात्मक काम गर्दै आएको भन्दै उपयोगी र ज्ञानवर्धक डायरी प्रकाशन गरेकोमा धन्यवाद दिनुभयो ।