• ११ असोज २०८१, शुक्रबार

उन्नत जातको आलु उत्पादन

blog

रामेछाप समाचारदाता 

रामेछाप, मङ्सिर १९ गते । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा उन्नत रोजिटा जातको पिबिएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ । स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिबाट सो आलुको बिउ उत्पादन गरिएको हो । 

स्क्रिन हाउसमा यस्तो प्रविधिबाट शैलुङमा दोस्रो पटक आलुको बिउ उत्पादन गरिएको हो । यसअघि गएको वर्ष पनि सो प्रविधिबाट आलुको बिउ उत्पादन गरिएको थियो । 

दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाको शैलुङस्थित ल्याबमा इनभिट्रो प्लान्ट तयार गरी स्क्रिन हाउसबाट नयाँ बिउ निकालिएको स्थानीय कृषक दावासाङ्बु शेर्पाले बताउनुभयो । यस्तो प्रविधिबाट उत्पादन गरेको बिउ भाइरसमुक्त हुने छ । उत्पादन गरिएको आलुको बिउ प्रतिदाना २० रुपियाँभन्दा बढी पर्छ । उन्नत जातको बिउको प्रयोग गर्न थालेपछि २८ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।