• २२ असार २०८१, शनिबार

अझै सञ्चालनमा आएन आइसिपी

blog

सिराज खान 

नेपालगन्ज, मङ्सिर १९ गते । यहाँस्थित नेपाल–भारत नाकामा तयार भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । सो आइसिपी उद्घाटन गरिएको छ महिना पूरा भएको छ तर अझै सञ्चालनमा आएको छैन । 

गत जेठ १८ गते नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको सो आइसिपीमा विद्युत् जडानलगायत निर्माणका केही काम पूरा हुन नसकेको हुँदा भारतीय पक्षले हस्तान्तरण नगरेकाले सञ्चालन गर्न नसकिएको बताइएको छ ।  

उक्त आइसिपीको भारततर्फको निर्माण कार्य शतप्रतिशत पूरा भइसकेको र नेपालतर्फको काम अन्तिम चरणमा रहेको छ । 

नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरले आइसिपी निर्माणको जिम्मा पाएको भारतीय पक्षले ९० देखि ९५ प्रतिशत काम सकेको र बाँकी काम एक महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गरेपछि मात्र सञ्चालनमा आउने बताउनुभयो । 

उहाँले आइसिपी सञ्चालनका लागि खुला प्रतिस्पर्धाबाट टिआरएस एट्लस लजिपार्क प्रालिलाई छनोट गरिसकेको जनाउँदै भारतले हस्तान्तरण गरेलगत्तै सो प्रालिलाई हस्तान्तरण गरेर सञ्चालनमा ल्याइने बताउनुभयो । 

उहाँका अनुसार आइसिपी सञ्चालन एवं व्यवस्थापन गरेबापत उक्त कम्पनीले पाँच वर्षमा २० करोड ८८ लाख रुपियाँ बुझाउनुपर्ने छ । भारत सरकारको सहयोगमा सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएको सो जाँच चौकीको निर्माण एक अर्ब ४७ करोड भारतीय रुपियाँको लागतमा सम्पन्न हुन लागेको राजदीप बिल्डकन निर्माण कम्पनीले जनाएको छ । 

आइसिपी सञ्चालनपछि नेपालगन्ज नाका हुँदै हुने आयात निर्यात प्रभावकारी हुने अपेक्षा गरिएकामा सञ्चालनमा ढिलाइ हुँदा यस क्षेत्रका उद्योगी व्यवसायी चिन्तित बनेका छन् । 

यहाँका उद्योगी व्यवसायीको साझा संस्था नेपालगन्ज उद्योग वाणिज्य सङ्घले उद्घाटन भएको छ महिना पूरा भए पनि अझै आइसिपी सञ्चालनमा नआउनु दुःखद भएको जनाउँदै हतारमा उद्घाटन गरिएको जनाएको छ ।