• १२ असार २०८१, बुधबार

गोरखापत्र र त्रिवि पुस्तकालयबिच १० बुँदे समझदारी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १८ गते । नेपालको जेठो प्रकाशन गृह गोरखापत्र संस्थान र देशकै पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबिच १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

गोरखापत्रको पुस्तकालय स्तरोन्नति तथा व्यवस्थापन सहयोगसम्बन्धी सम्झौतापत्रमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । 

यो सम्झौताले संस्थानको पुस्तकालय तथा अभिलेख शाखालाई व्यवस्थित बनाउँदै सम्पूर्ण प्रकाशनको संरक्षण एवम् भण्डारण गर्न र संस्थानले अगाडि बढाएको डिजिटल अभिलेखीकरणको अभियानलाई समेत सहयोग पुग्ने छ । संस्थानको पुस्तकालयमा रहने पत्रपत्रिका, प्रकाशन एवम् पुस्तकहरूलाई व्यवस्थित तवरले अभिलेखीकरण गर्ने कार्यमा त्रिवि पुस्तकालयले आवश्यक पर्ने परामर्श एवम् अन्य सरसल्लाह उपलब्ध गराउने छ ।

कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले राष्ट्रको गौरवमय इतिहास र भाषिक क्षेत्रको विकासमा अतुलनीय योगदान दिएको गोरखापत्र र प्राज्ञिक क्षेत्रको अध्ययन, अनुसन्धान केन्द्रको रूपमा रहेको त्रिवि पुस्तकालयबिचको यस समझदारीले आपसी हितमा कार्य गर्न सहयोग पुग्ने बताउनु भयो । 

अध्यक्ष सुवेदीले यस समझदारीले गोरखापत्रको पुस्तकालयका साथै इ–लाइब्रेरी निर्माणमा फड्को मार्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र र त्रिवि इ–लाइब्रेरीबिच एक अर्कालाई सहयोग र समन्वय गरेर अगाडि बढ्ने उद्देश्यले तीन वर्षका लागि  समझदारी भएको उल्लेख गर्नुभयो । यी दुई संस्थानबिचको पहिलो चरणको एक वर्षको समझदारीको अवधि सकिएपछि यो दोस्रो चरणको समझदारी भएको हो । 

त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सुवेदीले भाषाको विकासमा गोरखापत्र सधैँ केन्द्रबिन्दु रहेको छ र अङ्ग्रेजी पाठकका लागि दि राइजिङ नेपालको योगदान विशिष्ट रहेको चर्चा गर्नुभयो । उहाँले त्रिवि लाइब्रेरीका सामग्री गोरखापत्रबाट र गोरखापत्रका डिजिटल सामग्री त्रिवि इ–लाइब्रेरीबाट पढ्न सकिने गरी व्यवस्थापन गरिने जानकारी दिनुभयो । 

कार्यक्रममा संस्थान सञ्चालक समितिका सदस्य एवम् अर्थ विभाग प्रमुख राजुकुमार महत, गोरखापत्र अनलाइन प्रकाशनका सम्पादक नारदमुनि गौतम, प्रशासन विभागका प्रमुख भगीरथ बस्नेत, योजना विभागका प्रबन्धक बविता कार्की, त्रिवि पुस्तकालय अधिकृत विजय शर्मालगायतको सहभागिता थियो ।