• १४ असार २०८१, शुक्रबार

नारायणी र मैवाखोला मावि प्रथम

blog

भलिबल विजेतालाई पुरस्कार वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १८ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय र मैवाखोला माध्यमिक विद्यालय प्रथम भएका छन् । प्रतियोगितामा छात्रातर्फ नारायणी र छात्रतर्फ मैवाखोला मावि प्रथम भएको हो ।

भलिबल प्रतियोगितामा छात्र तथा छात्रातर्फ प्रथम हुनेले समान १३ हजार ५०० रुपियाँ पुरस्कार पाएका छन् । यस्तै प्रतियोगितामा छात्रातर्फ द्वितीय भएको मैवाखोला मावि तेम्बे र छात्रतर्फ द्वितीय भएको जनकल्याण मावि तेल्लाबुङले पनि समान आठ हजार ५०० रुपियाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

गाउँपालिकाले पठनपाठनसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप समेतको आवश्यकता पर्ने भएकाले अतिरिक्त क्रियाकलापअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको जनाएको छ । गाउँपालिकाका प्रवक्ता एवम् वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार प्रतियोगितामा पालिकाभरिका पाँचवटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।  

भलिबल प्रतियोगितासँगै नेपाली तथा अङ्ग्रेजीमा निबन्ध लेखन, चित्रकला र हस्तलेखन प्रतियोगितासमेत आयोजना गरिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो । प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता भने शनिबार र आइतबार सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।