• २ असार २०८१, आइतबार

नेपाल–भारत सीमास्तम्भको मर्मत सुरु

blog

झापा जिल्लामा नेपाल–भारत दशगजा क्षेत्रको सीमास्तम्भ अनुगमन, मर्मत तथा रङरोगन सुरु । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, मङ्सिर १८ गते । 
झापा जिल्लामा नेपाल–भारत दशगजा क्षेत्रको सीमास्तम्भ अनुगमन, मर्मत तथा रङरोगन सुरु भएको छ ।

सोमबार झापाको मेचिनगरस्थित सतिघट्टाबाट सीमास्तम्भको अनुगमन तथा मर्मत सुरु भएको हो । नेपाल तथा भारतका सुरक्षा संयन्त्रको सहभागितामा उक्त सीमास्तम्भहरुको अनुगमन र मर्मत सम्भार सुरु गरिएको हो ।

झापाको मेचीनगर–७ मा रहेको सहायक सीमास्तम्भ ९१÷१ पिपि ५५ मा रङरोगन गरेर कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीका कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल, राष्ट्रिय अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठको उपस्थितिमा सीमास्तम्भ अनुगमन तथा मर्मत कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेक्का झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा रहेको सीमास्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनः स्थापनासम्बन्धी मापदण्ड २०८० अन्तर्गत कार्यक्रम गरिएको अर्यालले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमाअन्तर्गत झापाको १४४.०२ किलोमिटर क्षेत्रमा साना ठुला गरी ९९५ स्तम्भ रहेकोमा ३१७ वटा मर्मत गर्नुपर्ने एसपी अर्यालले जानकारी दिनुभयो । बिजोर नम्बरको स्तम्भ नेपालको तर्फबाट मर्मत गरिने जनाइएको छ । 

कार्यक्रममा भारतीय सुरक्षा निकाय एसएसबी हेक्का रानिडंगा सेकेण्ड इन कमाण्ड नवीन राई, झापाका सहायक प्रजिअ विश्वराज नेपाललगायतको उपस्थिति थियो ।

सशस्त्र प्रहरीका बाहिनीपति पोखरेलले सीमा मर्मतसम्भारसँगै सीमामा हुने आपराधिक गतिविधि, तस्करी नियन्त्रण र सीमाको सुरक्षामा सशस्त्र प्रहरी सदैव अग्रमोर्चामा खटिने बताउनुभयो ।