इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर १८ गते । पाल्पाको रामपुर नगरपालिका–८, पिल्टारमा भेटिएको राज गोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ । वसन्त कुमालले आफ्नै घरमा सञ्चालन गर्नुभएको किराना पसल तथा रेस्टुरेन्टभित्र भेटिएको किङ कोब्रालाई उद्धार गरी सुरक्षित स्थानमा छाडिएको छ ।
शनिवार साँझ भाले राज गोमन नामक सर्प भेटिएपछि घरपरिवार र स्थानीयले रामपुर सब डिभिजन वन कार्यालयमा खबर गरेका थिए । रामपुर सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय रामपुरको समन्वयमा सर्प उद्धारकर्ता सागर पाण्डे र प्रशान्त अधिकारीले आइतबार अपराह्नमा उद्धार गर्नुभएको हो । उद्धार गरिएको सर्प रामपुर क्षेत्रमा बस्ती बाक्लो भएकाले सुरक्षित प्राकृतिक वासस्थानमा लगेर छाडिएको रामपुर सब डिभिजन वन कार्यालयका वन रक्षक केशबहादुर खण्डलुले जानकारी दिनुभयो ।
सर्प ९ फिट लामो र ४ केजी ३ सय ग्राम तौलको थियो । सर्प उद्धारकर्ता पाण्डेले यस सहित ५८ वटा किङ कोब्रा प्रजातिको सर्प उद्धार गरिसकेको जानकारी दिनुभयो । हालसम्म विभिन्न प्रजातिका साढे १३ हजार सर्पकाे उद्धार गरिसकेको बताउनुभयो । पर्यावरणलाई अनुकूल राख्न सर्पले ठुलो मद्दत गर्ने हुँदा कुनै पनि सर्प देखेमा नमार्न र विना अनुभव नियन्त्रणमा लिने प्रयास नगर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “यो निकै विषालु सर्प हो, यसको एन्टिडोज पाउन गाह्रो हुन्छ । तर सर्पलाई असर पुग्ने काम गरिएन भने कसैलाई केही गर्दैन ।”