राममणि दाहाल
हेटौँडा, मङ्सिर १७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य कार्यस्थल अपाङ्गमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।
अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका साधन, सडक, सेवा प्रवाह गरिने सार्वजनिक निकाय एवम् विभिन्न कार्यस्थललाई अपाङ्गमैत्री बनाउनुपर्ने बताउनुभएको हो ।
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ नारासहित नेपालमा आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ ।
प्रमुख शर्माले फरक क्षमताका सम्पूर्ण देशवासीप्रति आफूले उठाउँदै आएका मुद्दामा सफलता प्राप्तिका लागि शुभकामना दिनुभएको छ । नेपालमा अपाङ्गता भएका व्यक्तिलाई कानुनी रुपमा अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “उनीहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा समावेसिताका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।”
समाजले अपाङ्गता भएकाको अवस्थालाई हेर्ने दृष्टिकोणलाई रुपान्तरण गर्दै विकासको मूल प्रवाहमा सहभागिता गराउने कार्यमा कन्ज्युस्याइँ गर्न नहुने प्रमुख शर्माको भनाइ छ । ‘फरक क्षमता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता पक्षमा प्रभावकारी ढङ्गबाट क्रियाशील रहनु सबैको दायित्व हो’ शर्माले भन्नुभयो ।
प्रदेश प्रमुख शर्माले आफ्नो सन्देशमा अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायलगायत सबैलाई भिन्न क्षमता भएका नागरिकको पक्षमा सदैव क्रियाशील रहन यो दिवसबाट ऊर्जा मिलोस् भन्नुभएको छ ।