• २ असार २०८१, आइतबार

हिमपातका कारण म्युनिखमा ७६० उडान रद्द, बस–रेल सेवा स्थगित

blog

म्युनिख, मङ्सिर १७ गते । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडान रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू बन्द गरिएको छ ।

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने, लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ । रेल यातायात सोमबारसम्म ‘गम्भीर रूपमा प्रभावित’ हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो सङ्ख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको जर्मनीमा आधारित अखबार सुदेट्च जेतुङलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरिएको छ ।

शनिबार, प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ । यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।

यसैबीच, बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि ‘सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण’ स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

शनिबार, म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सीएनएनले बाभेरियन सार्वजनिक प्रसारक बेइरिस्चर रुन्डफङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो । यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो ।

बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ । बाक्लो हिमपातसँगै यहाँको उडान र गुडान दुवै यातायात प्रत्यक्ष रूपमा प्रभावित हुने गर्दछ । रासस/एएनआई