• २७ वैशाख २०८२, शनिबार

गाउँपालिकामा डेढ सय मोतीबिन्दुपीडित

blog

दोलखा समाचारदाता

दोलखा, मङ्सिर १७ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट झन्डै डेढ सय मोतीबिन्दुका रोगी भेटिएका छन् । नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त आयोजनामा भएको चारदिने निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट १३० मोतीबिन्दुका रोगी भेटिएका गाउँपालिकाले जनाएको छ । 

पालिकाका सूचना अधिकारी वसन्तराज रेग्मीका अनुसार शिविरमा सबैभन्दा बढी फ्याकुमा ६५, जुँगुमा ३७, सुरीको गुरुम्फीमा २२ र लामाबगरमा छ जना मोतीबिन्दुका रोगी भेटिएका हुन् । शिविरबाट छनोट भएकाको आइतबार र सोमबार गाउँपालिकाको सेवा केन्द्र भोर्लेमा निःशुल्क शल्यव्रिmया गरिने आयोजकले जनाएको छ । नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त आयोजनामा आँखा शिविरको आयोजना गरिएको थियो । 

चिकित्सकका अनुसार आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनु नै मोतीबिन्दु हो । अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु र बिस्तारै नजिकको वस्तु वा कुनै वस्तु छुट्याउन गाह्रो भएमा मोतीबिन्दुको समस्या हुन सक्छ । मोतीबिन्दुको उपचार बेलैमा नगरेमा दृष्टिघातक रोग जलबिन्दु हुने भएकाले बेलैमा मोतीबिन्दुको उपचार गर्न डाक्टरको सुझाव रहेको छ ।