• १३ मंसिर २०८१, बिहिबार

पर्यटक आकर्षित गर्न मिनी पार्क बन्दै

blog

डुबरी तालमा बन्दै गरेको मिनी पार्क। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर १६ गते। पर्यटक आकर्षित गर्नका लागि डुबरी तालमा मिनी पार्क बनाउन थालिएको छ। 

कैलालीको कैलारी गाउँपालिका–८ मा रहेको यो ताललाई ग्रामीण क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ सङ्घीय सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा मिनी पार्क बनाउन थालिएको हो। 

एक करोड ७८ लाख ९८ हजार रुपियाँ लागतमा संरचना निर्माण भइरहेका छन्। तालमा संरचना निर्माणका लागि कैलारी गाउँपालिकाको कार्यालय र निर्माण कम्पनी महादेव खिम्टी अञ्जना खड्का जेभीबिच २०७८ वैशाख ९ गते सम्झौता भएको थियो। २०८० फागुन मसान्तसम्म ठेक्का अवधि रहेको छ। 

तालको करिब आधा भागमा मिनी पार्क निर्माणको कार्य भइरहेको कैलारी गाउँपालिकाका इन्जिनियर भरत चन्दले बताउनुभयो। उहाँका अनुसार मिनी पार्क निर्माणको लगभग ९० प्रतिशत काम पूरा भइसकेको छ। 

पूर्वी दिशामा प्रवेशद्वार, टिकट घर, दक्षिणी दिशामा शौचालय, सात हेक्टर क्षेत्रफलमा वरिपरि गरेर ९४० मिटर पर्खाल निर्माणको काम पूरा भएको छ। शौचालय भवनको फिनिसिङ गर्ने, सौन्दर्यका लागि बिरुवा रोप्ने र बिरुवाको सुरक्षा गर्न टी गार्ड बनाउने कार्य बाँकी रहेको इन्जिनियर चन्दले बताउनुभयो। 

यसैगरी, ताल वरिपरि पदमार्ग निर्माण गरिनुका साथै छ वटा पिकनिक स्थल बनाइएको छ। मिनी पार्क बनेमा घुम्न आउने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने डुबरी सामुदायिक वनका अध्यक्षसमेत रहनु भएका बुढियावासी परशुराम चौधरीले बताउनुभयो। 

मिनी पार्क निर्माणको कार्य उत्साहपूर्वक अगाडि बढेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो,“झारपातमात्रै थियो। पर्यटन विकासका लागि मिनी पार्क बनाउन थालेपछि खुसी भएका छौँ।” 

छ बिघा क्षेत्रफलमा फैलिएको डुबरी ताल यसअघि सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेको थियो। अचेल कैलारी गाउँपालिका कार्यालयको मातहतमा रहेको छ। गाउँपालिकाले एकद्वार प्रणालीमार्फत ठेक्का लगाउनका लागि सबै प्राकृतिक तालहरूलाई आफ्नो मातहतमा लिएको हो। 

यसअघि, केही दशक पहिले ताल क्षेत्र अतिक्रमण गरेर त्यहाँ सुकुम्वासी बसेका थिए। उनीहरूलाई हटाएर ताललाई अतिक्रमण हुनबाट जोगाएको स्थानीय विक्रम चौधरीले बताउनुभयो। “ताल जोगाउने क्रममा मुद्दा मामिलासमेत खेप्नु पर्‍यो”, उहाँले भन्नुभयो।