• १२ असार २०८१, बुधबार

६ सय छात्रालाई छात्रवृत्तिमा ५० प्रतिशत अनुदान

blog

बाँकेको बैजनाथ गाउँपालिकाको कार्यालय भवन।तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १६ गते। बाँकेको एक पालिकाले बालिकालाई विद्यालयमा ल्याउनका लागि छोरी पढाऊ अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लाको बैजनाथ गाउँपालिकाले सञ्चालन गरेको छोरी पढाऊ कार्यक्रमलाई सफल पार्नका लागि पालिका भित्रका विद्यालय जाने छात्रालाई छात्रवृत्तिमा ५० प्रतिशत अनुदान दिएको हो।गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्राको शिक्षामा आकर्षण बढाउन उनीहरूको मासिक शुल्कमा ५० प्रतिशत अनुदान दिइएको हो।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत कक्षा ११ र १२ मा पढ्ने छात्राका लागि २० लाख रुपियाँको बजेट विनियोजन गरेर ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको अध्यक्ष शाहीले बताउनुभयो।

उहाँले गाउँपालिकामा सञ्चालित सूर्योदय माध्यमिक विद्यालय चिसापानी, प्रभात नमुना माध्यमिक विद्यालय जिगाउँ, बागेश्वरी माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा पढ्ने करिब ६ सय जना छात्राहरूलाई छात्रवृत्तिमा अनुदान दिइएको बताउनुभयो।

अध्यक्ष शाहीले थप्नुभयो, ‘हामीले २०७९ सालको स्थानीय निर्वाचनमा आफ्नो घोषणा पत्रमा छात्रालाई छात्रवृत्तिमा अनुदान दिने कुरा समेटेका थियौँ, चुनाव अगाडि घोषणापत्रमा बोलेका ती कुरालाई कार्यान्वयन गर्न यो कार्यक्रम ल्याएका हौँ ।’ 

छात्राहरूलाई अनुदान दिइएपछि विद्यालय आउने छात्राको सङ्ख्या बढ्नुका साथै कक्षामा नियमित हुनेक्रम पनि बढेको जानकारी विद्यालयले गराएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।