अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १६ गते । अर्जुन चौपारी गाउँपालिका रहेको औद्योगिक ग्राम प्रयोगमा ल्याउने तयारी गरिएको छ । २०७५ चैत ४ गते प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णय अनुसार अर्जुन चौपरी बनाउने प्रक्रिया अगाडि बढाइएको हो ।
सञ्चालनको अन्तिम तयारीमा रहेको वडा नं १ नब्बेमा रहेको औद्योगिक ग्राममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले निरीक्षण समेत गर्नु भएको छ ।
तयारी अवस्थामा रहेको सो औद्योगिक ग्रामलाई आवश्यक सहयोग गर्ने बताउनुहुँदै मन्त्री थापाले अन्तिम किस्ता समेत चाँडै भुक्तानी गर्ने बताउनुभयो ।
पालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाले सरकारको कार्यविधि अनुसार आवश्यक पूर्वाधार बनाएसँगै औद्योगिक ग्राम प्रयोगमा ल्याउने तयारी गरेको बताउनुभयो ।
८७ रोपनीमा फैलिएको औद्योगिक ग्राम हेलु अर्जुन चौपारी सडकको पहुँचमा रहेको छ भने यहाँ ४५७ मिटर तटबन्धन, शौचालय निर्माण, जग्गा सम्माउने कार्य तथा विद्युत विस्तार, गेट निर्माण गरिएको छ भने १२३ तटबन्धन बाँकी रहेको छ ।
सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा निर्माण भएको औद्योगिक ग्राममा हालसम्म दुई करोड १३ लाख २३ हजार ५८९ रुपियाँ ११ पैसा संरचना निर्माण गर्न खर्च गरिएको छ ।
प्रदेशको तेस्रो किस्ता र पालिकाले विनियोजन गरेको २५ लाखको काम हुने बताउनुहुँदै तिवारीले पहिलो चरणमा ढुङ्गा कटिङ, फर्निचर उद्योग, ग्रिल उद्योग राखिने बताउनुभयो ।
गल्याङ, चापाकोट, पुतलीबजार, वालिङ नगरपालिका तथा अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकामा औद्योगिक ग्राम बनाउन सरकारले स्वीकृत गरेको थियो ।
यहाँका अन्य पाँच पालिकामामध्ये गल्याङमा तेस्रो चरणमा काम अगाडि बढाइएको छ भने अन्यमा पहिलो र दोस्रो चरणमा रहेको छ ।