लक्ष्मण पौडेल
भैरहवा, मङ्सिर १६ गते । रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । लुम्बिनी– ककरहवा सडकखण्ड अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको जानकारी दिनुभयो ।
सूर्यपुराको सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । दुर्घटनापछि जम्मा भएका स्थानीयले स्कुल बसमा आगजनी गरेका छन् । घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
स्थानीय वीरेन्द्र मिश्रका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएको हो ।