• १७ असार २०८१, सोमबार

काठ तस्करी बढ्यो, अवैध सालको काठ बरामद

blog

नरैनापुरको सःमिलबाट बरामद गरिएको अवैध सालको काठ । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १६ गते । बाँकेको दुर्गम र पिछडिएको मानिने नरैनापुर क्षेत्रमा सालको काठको अवैध तस्करी बढेको छ । अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति र सक्रियता कम रहेको यस क्षेत्रमा तस्करी बढेको देखिएको हो ।  

सो क्षेत्रमा बेला–बेलामा तस्करी र अवैध ओसार–पसारका घटनाहरू सार्वजनिक हुँदैआएका छन् । सोहीक्रममा पछिल्लो पटक सो क्षेत्रमा काठ तस्करी बढेको पाइएको छ । नरैनापुर गाउँपालिकास्थित एउटा आरामिलमा डिभिजन वन कार्यालय बाँकेले छापा मारेर ४० क्युफिट बढी अवैध काठ बरामद गरेपछि सो क्षेत्रमा काठ तस्करी बढेको पुष्टि भएको छ । 

नरैनापुर गाउँपालिका–५ मा सञ्चालित दिनेश आरामिलमा छापा मारेर ४० क्युफिटभन्दा बढी सालको अवैध काठ बरामद गरिएको डिभिजन वन कार्यालय बाँकेका रेन्जर नवराज शाहीले जानकारी दिनुभयो । 

उहाँले लामो समयदेखि उक्त सःमिलले काठसम्बन्धी अवैध क्रियाकलाप गरिरहेको सूचना आएको हुँदा सोही सूचनाको आधारमा छापा मारिएकोमा अवैध काठ बरामद भएको बताउनुभयो । 

डिभिजन वन कार्यालय बाँकेका अनुसार बरामद गरिएको काठसहित थप अनुसन्धानका लागि सःमिलका सञ्चालक दीपक रानालाई पक्राउ सरि डिभिजन कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ । 

नरैनापुर–५ स्थित गाजी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा स्थापित रहेका दुईवटा सःमिलबाट अवैध काठको कारोबार हुँदैआएको आशङ्का रहँदै आएकोमा विशेष सूचनाको आधारमा कारबाही गर्दा अवैध काठ बरामद गरिएको रेन्जर शाहीले बताउनुभयो । 

उहाँले बरामद भएको काठ र सःमिलका सञ्चालक रानालाई थप अनुसन्धान र कारबाहीका लागि वन डिभिजनमा ल्याइएको जनाउँदै नरैनापुर क्षेत्र खुल्ला सिमाना भएको क्षेत्र भएकाले काठ तस्करी हुँदैआएको बताउनुभयो । 

यसअघि गत जेठ महिनामा पनि डिभिजन वन कार्यालय बाँकेले नरैनापुर –४ को नौसहरामा छापा मारेर सय क्युफिटभन्दा बढी अवैध काठ बरामद गरेको थियो । नरैनापुरको वडा १ देखि वडा ५ सम्मको क्षेत्र भारतीय सिमानासँग जोडिएको र सो क्षेत्रमा काठ तस्करीलगायत अन्य विभिन्न प्रकारका तस्करी समेत हुँदैआएको स्थानीय बासिन्दाले बताएका छन् । 

लेखक बाट थप