• १७ असार २०८१, सोमबार

पालिकाबाट विद्यार्थीलाई दिवा खाजा

blog

रेखीराम राना

तानसेन, मङ्सिर १६ गते । पालिकाले दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय छाड्ने दर घटेको छ । रम्भा गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीका लागि खाजाको व्यवस्था गरिएको हो ।                                                               

सङ्घीय सरकारले बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दैनिक १५ रुपियाँ अनुदान दिएको छ । रम्भा गाउँपालिकाले ६ देखि ९ कक्षासम्मका विद्यार्थीका लागि दैनिक २० रुपियाँको खाजा खुवाउने गरेको रकमादेवी आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुप्रसाद बस्यालले बताउनुभयो । गाउँपालिकाले माथिल्लो कक्षाका विद्यार्थीलाई समेत दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी खुसी हुँदै नियमित विद्यालयमा आउने गरेको बस्यालले बताउनुभयो । दिवा खाजाले माथिल्लो कक्षामा विद्यालय छाड्ने दर कम हुँदै गएको उहाँले बताउनुभयो । 

विद्यालयमा नआउने बोटे, कुमाल, विपन्न र माझी समुदायका बालबालिकालाई दिवा खाजाले नियमित विद्यालय आउने वातावरण बनाएको छ । पहिले विद्यालयमै नआउने र आएर पनि बिचमै कक्षा छाड्ने विद्यार्थीहरू विद्यालयमा खाजा नास्ता खाएर रमाउँदै पढ्ने गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाकी शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले माथिल्लो कक्षामा दिवा खाजाको प्रबन्ध गरेपछि विद्यालय छाड्ने विद्यार्थी घट्दै गएको बताउनुभयो । खाजाका कारण विपन्नता र अन्य कारणले विद्यालय छाड्ने विद्यार्थी विद्यालयमा आएर नियमित कक्षा लिइरहेको उहाँले बताउनुभयो । 

गाउँपालिकाले यो वर्ष एक हजार ४५ जना बालबालिकालाई खाजा खुवाउँदै आएको छ । आगामी वर्ष कक्षा १० का विद्यार्थीलाई समेत खाजा खुवाउने योजना गाउँपालिकाले बनाएको छ । 

दिवा खाजाका कारण कतिपय संस्थागत विद्यालयले विद्यार्थी नभएर कक्षा घटुवा गर्नु परेको छ । दिवा खाजाकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित भएपछि रम्भा गाउँपालिकाभित्रका संस्थागत विद्यालयले कक्षा कटौती गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले दिवा खाजाको प्रबन्धले संस्थागत विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयमा आकर्षित भएको बताउनुभयो । 

रम्भाका विद्यार्थीलाई सामुदायिक विद्यालयमा भित्र्याउने, टिकाउने र बिकाउने नीति अनुसार आफूहरूले खाजाको प्रबन्ध गरेको अध्यक्ष भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “दिवा खाजाले बालबालिकालाई सामुदायिक विद्यालयमा भित्र्याउने र टिकाउने काम गरेको छ, उनीहरूलाई प्राविधिक ज्ञान र सिपको माध्यमबाट बिकाउने गरी पठनपाठनको व्यवस्था गरेका छौँ ।”