• १२ फागुन २०८०, शनिबार

प्रजातान्त्रिक आन्दोलनका उपेक्षित योद्धा

blog

नेपालको प्रजातान्त्रिक इतिहास र प्राज्ञिक जगत्ले समेत सम्मानका साथ सम्झिनुपर्ने नाम हो – यज्ञ अधिकारी । नेपालको लोकतान्त्रिक आन्दोलन र रूपान्तरणमा अधिकारीले पु¥याएको योगदान स्मरणीय छ । उनी जननेता बिपीका सच्चा अनुयायी तथा उनीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादका व्याख्याता, प्रशिक्षक एवं बौद्धिक चिन्तक हुन् । उनी विश्व राजनीतिलाई बुझेका राजनीतिशास्त्रका गुरु पनि हुन् । प्रजातान्त्रिक समाजवाद स्थापनाको लक्ष्य लिएको प्रजातान्त्रिक आन्दोलनको वाहक दल नेपाली कांग्रेसबाट नै देशमा परिवर्तन सम्भव छ भनेर उनी विद्यार्थीकालदेखि नै कांग्रेसको समर्थक बनेका थिए । बिपी, गणेशमान, कृष्णप्रसाद जस्ता नेताहरूको आदर्शबाट प्रभावित भई लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिँदा उनले पटक पटक जेलनेल र यातना भोग्नु परेको थियो । 

डा. अधिकारी राजनीति र प्राज्ञिक पेसा दुवैलाई एकसाथ अघि बढाएका प्रेरक व्यक्ति हुन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा झन्डै चार दशकभन्दा बढी समय योगदान दिएका छन् । तीन दशकसम्म उच्च शिक्षाको विकास, अध्ययन, अनुसन्धानमा बिताएका छन् । उनले बनारसको बनारस हिन्दु विश्वविद्यालयबाट नेपाली कांग्रेसको विदेश नीति सम्बन्धमा विद्यावारिधि गरेका छन् । विश्वविद्यालयको प्राध्यापक र अन्य जिम्मेवारीमा रहँदा उच्च शिक्षाको उन्नयनमा उनको उल्लेख्य योगदान रहेको छ । लोकतन्त्र, मानव अधिकार र शिक्षाको विकासका लागि जीवन अर्पण गरेका अधिकारीले देश, समाज र उन्नत लोकतन्त्रका लागि अझ बढी काम गर्ने सपना बोकेका थिए । 

तिनै राजनीतिक योद्धा एवं बौद्धिकताका पिल्लर डा. यज्ञ २०७५ सालदेखि हृदयाघातका कारण जीवनमरणसँग सङ्घर्ष गर्दै आएका थिए । साथीभाइ, इष्टमित्र र सम्पूर्ण कुरालाई बिर्सिएर गुमनाम जस्तै बनेका अधिकारीको स्वास्थ्यमा अहिले केही सुधार आएको छ र होस खुलेको छ । उनको बोली भने अझै स्पष्ट हुन सकेको छैन तर होस फर्किएपछि अझै देशका लागि केही गर्न सके हुन्थ्यो भन्ने व्यग्रता छ । त्यसैले आफूलाई भेट्न आउने शुभेच्छुकसित आफ्नो स्वास्थ्यभन्दा देश र प्रजातन्त्रकै भविष्यप्रति चिन्ता व्यक्त गरिरहन्छन् । 

दुःखको कुरा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रिक अधिकारका लागि लडेका डा. अधिकारी जस्ता व्यक्ति विगत पाँच वर्षदेखि ओछ्यानमा थला पर्दासमेत उनलाई आफ्नै पार्टीले समेत वास्ता गरेको देखिएन । न्याय मरेको देशमा आफूले उपचार खर्च र अन्य सुविधाको अपेक्षा कहिल्यै नगरेको तर सँगै जेल बसेका, दुःखकष्ट भोगेका शीर्ष नेताहरूले सम्झनासम्म नगर्दा दुःख लागेको उनी बताउँछन् । 

पङ्क्तिकारलाई डा. अधिकारीले मस्तिष्काघातपछि न्युरो अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहँदा ४० वर्षअगाडिको एउटा घटना स्मरण गराएको प्रसङ्ग सुनाए । २०४६ सालमा विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएपछि बिरामी भई वीर अस्पतालमा भर्ना भएर बसेकै १७–१८ दिन भइसकेको थियो, एक दिन दिउँसो ३ बजेतिर बिपी मलाई भेट्न आउनुभयो । त्यसको भोलिपल्ट ३ बज्दा नबज्दै मलाई उहाँले दिल्ली उपचारका लागि पठाउनुभयो । म दिल्लीमै उपचारमा रहेको अवस्थामा पनि उहाँले बनारसबाट फोन गरेर भन्नुभयो, “यज्ञ मलाई अहिले दिल्ली आउने समय मिलेन, तिमीलाई छिटो निको हुन्छ, मैले तिमीलाई राम्रोसित हेर्नू भनेर डाक्टरसित कुरा गरिसकेको छु ।”

पार्टीभित्र एउटा सामान्य कार्यकर्ताले नेतृत्वबाट पाउने ममताको एउटा अतुलनीय उदाहरण थियो । यो घटना सुनाइसकेपछि मैले कांग्रेसका तत्कालीन महामन्त्री शशाङ्क कोइरालालाई भनेँ, “त्यही नेताको छोरा तपाईं अहिले पार्टीको महामन्त्री हुनुहुन्छ, म बाँच्न चाहन्छु । म बाँचे भने मेरो बाँकी जीवन लोकतन्त्रका लागि हुने छ । मान्छे एक घण्टा भए पनि छिटो मर्न चाहँदैन, मलाई बचाउने उपाय गर्नुहोस् ।” 

हामीले भाषणबाट होइन, व्यवहारबाटै बिपीको आदर्शलाई अङ्गीकार गर्न सक्नु पर्छ । कुनै राजनीतिक दल निर्जीव यन्त्र बन्न सक्दैन । नेता र कार्यकर्ताबिचको भावनात्मक संवेग यसका आधारभूत पक्ष हुन् । बिपीको आदर्श र व्यवहारलाई नजिकबाट अनुभव गरेका अधिकारी भन्छन्– सत्ता कुनै पनि दलको साध्य होइन, साधन मात्र हो । बिपीले सत्तालाई कहिल्यै साध्य सम्झिनु भएन, आदर्श र व्यवहारलाई छुट्याउनु भएन । 

बिपीका अनुयायी हौँ भन्ने वर्तमान नेताहरूले उहाँको आदर्श र व्यवहारलाई अनुसरण गरिदिएको भए पनि अधिकारी जस्ता लोकतन्त्रका हिमायतीले उपेक्षा र तिरष्कारको महसुस गर्नुपर्ने थिएन । डा. अधिकारीले त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र अन्य शैक्षिक निकायको नेतृत्वमा रहँदा उच्च शिक्षाको उन्नयनमा उल्लेख्य योगदान दिएका छन् । राजनीतिक योद्धा मात्र नभएर उनी विद्वताले खारिएका वरिष्ठ विद्वान्, प्रजातान्त्रिक समाजवादका व्याख्याता, राजनीतिक विश्लेषक, कुशल प्रशिक्षक पनि हुन् । 

नेपालको प्रजातान्त्रिक आन्दोलन र सङ्घर्षको उपलब्धिका साथसाथै परराष्ट्र नीतिलगायतका विषयलाई केन्द्रमा राखेर गहकिला ग्रन्थहरू, गोष्ठीपत्र र कार्यपत्र लेख्ने, प्रस्तुत गर्ने प्राध्यापक अधिकारीका थुप्रै कालजयी ग्रन्थ प्रकाशित छन् । नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारको विदेश नीतिमाथि शोध अध्ययन गरेर विद्यावारिधि गर्नुभएका डा. अधिकारी विदेश नीतिका ज्ञाता पनि हुन् । लगनशील, निष्ठा र प्रतिबद्धताका पर्याय अधिकारी कसैको कुभलो नसोच्ने  कर्मशील भएर कर्म गर्न उत्प्रेरित गर्ने असल व्यक्ति हुन् ।

विगतमा नेपाली कांग्रेसले अवलम्बन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तबाट प्रभावित भएर हजारौँ हजार नेपाली युवायुवती कांग्रेसले नेतृत्व गरेको सङ्घर्षमा सामेल भएका थिए । देशमा परिवर्तन र समृद्धिको सपना देखेर अनेक दुःख, कष्ट र यातना भोगेका थिए, सयौँले बलिदानी दिएका थिए, जसका कारण लाखौँ जनता लोकतन्त्रको पक्षमा उभिए । तिनै लोकतान्त्रिक योद्धाका कारण देशमा परिवर्तन सम्भव भयो र नेपाली कांग्रेस पटक पटक सत्तामा पुग्यो तर ती योद्धा र राजनीतिकर्मीले दिएको योगदानको कदरको त कुरै छाडौँ, उनीहरू इतिहासमै गुमनाम बन्ने स्थिति सिर्जना भएको छ । 

देशको सबैभन्दा पुरानो र गौरवशाली पार्टीले प्रजातन्त्रिक आन्दोलनका वीर योद्धाको दस्ताबेज तयार गरेर संस्थागत रूपमा सङ्घर्षको गाथालाई सुरक्षित गर्नुपर्ने हो तर यस्तो सृजनात्मक कार्यप्रति पार्टी उदासीन रहँदा राजनीतिक योद्धाहरूले विगतमा गरेको योगदानकै अवमूल्यन भइरहेको छ । लोकतन्त्र आएपछि आमअपेक्षाविपरीत नेताहरूमा सुविधाभोगी र अवसरवादी प्रवृत्ति हाबी हुँदै गयो । सत्ताको स्वादमा अल्मलिँदा नेताहरूले आफ्नै क्रान्तिकारी इतिहास र आदर्शको विरासतलाई पनि बिर्सिए, आफूसँगै जेलनेल र यातना पाएका सहयात्रीलाई पनि बिर्सिंदै जान थाले । 

लोकतन्त्रका लागि लडेका, जेलनेल खाएका, निष्ठा, आदर्श र प्रतिबद्धता भएका राजनीतिक योद्धा डा. अधिकारीलाई  पार्टी नेतृत्वले बिर्सिएकोमा बौद्धिक वर्ग नै खिन्न देखिन्छ । उनी राजनीतिक, प्राज्ञिक र साङ्गठनिक योग्यता भएका देशलाई चाहिने व्यक्ति हुन् । प्राज्ञिक व्यक्ति सभ्य देशका लागि गहना नै मानिन्छन् तर नेताको मात्र कदर हुने हाम्रो देशमा प्राज्ञहरू यसरी नै अपहेलित छन् । आन्दोलनको समय, अप्ठेरो परिस्थिति र सङ्घर्षको बेलामा मात्र बुद्धिजीवीलाई सम्झिने र सत्तामा पुगिपछि त्यो वर्गलाई चटक्कै बिर्सिने र अपेक्षा गर्ने प्रवृत्ति देखिएको छ । 

बिपीका विचार र सिद्धान्तबाट उनले निर्माण गरेको कांग्रेस नै विचलित भएकोमा डा. अधिकारी खिन्न छन् । उनी भन्छन्– कुनै पनि राजनीतिक दलले आफ्नो विचार, दृष्टिकोण, नीति र कार्यव्रmम कार्यान्वयनका लागि जनताको अभिमत लिएर सत्तामा जाने आकाङ्क्षा राख्नु स्वाभाविकै हो, सत्ता लोकतन्त्रको सबलीकरण र जनताको सशक्तीकरणका लागि साधन हो, सत्ता स्वयं साध्य होइन । मूल्य, मान्यता र सिद्धान्तलाई बिर्सिएर सत्ता नै अपरिहार्य साधन हो भन्ने मनोवृत्तिले लोकतन्त्र नै बदनाम भइरहेको छ । अपसंस्कृति र विकृति कांग्रेसभित्र डरलाग्दो किसिमले विकास हुँदै गएको छ, अरू पार्टीको त कुरै छोडौँ । समाजवादका व्याख्याता अधिकारीको ठम्याइ छ – सत्ता कुनै पनि दलको साध्य होइन, साधन मात्र हो, बिपी कोइरालाले सत्तालाई कहिल्यै साध्य सम्झिनु भएन, आदर्श र व्यवहारलाई छुट्याउनु भएन । 

देशमा प्रजातन्त्र स्थापना र पुनस्र्थापना भएको झन्डै ३५ वर्ष पूरा हुन लागेको छ तर आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूका परिवार अहिले पनि अपहेलित छन् । निष्ठापूर्वक लोकतान्त्रिक सङ्घर्षमा होमिएका इमानदार र स्वाभिमानी नेता, कार्यकर्ता, बुद्धिजीवी सबै मूल्याङ्कनको अभावमा उपेक्षित छन् । देशमा परिवर्तन आएपछि पार्टीभित्र एकथरी टाठाबाठा र पहुँचवालाले पटक पटक टिकट, सत्ता र राजनीतिक नियुक्तिमा अवसर पाइरहने र अर्कोथरीले अवसरै नपाएर थन्किनुपर्ने स्थिति छ । सबै पार्टीमा नातावाद, कृपावाद, गणेश प्रवृत्ति, अवसरवाद र बिचौलिया प्रवृत्तिको प्रभाव बढेको देखिन्छ, विकृतिका यी चाङहरू लोकतन्त्रका लागि चुनौती बनिरहेका छन् । अधिकारीले लोकतन्त्रका लागि दिएको योगदान वर्तमान पुस्ताका कुनै पनि नेताहरूको भन्दा कम छैन । नेताहरूको आशीर्वाद पाएको भए उनी राजदूत, सांसद या अन्य कुनै उच्च पदमा पुग्न सक्थे तर स्वाभिमानी भएकाले कहिल्यै पनि पदका लागि नेताकोमा धाएनन् ।  

नेपाली कांग्रेसभित्र बिपी कोइराला आफैँ समाजवादका प्रणेता र व्याख्याता हुन् । बिपीबाहेकको कुरा गर्दा प्रदीप गिरी, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, सिके प्रसाईं जस्ता केही नेताबाहेक समाजवादलाई गहिराइमा बुझेर व्याख्या, विश्लेषण गर्न र कलम चलाउन सक्ने अर्का व्यक्ति डा. अधिकारी नै हुन् । उनले प्रतिबन्धित काल र बहुदल स्थापनापछि पनि पार्टीका नेता, कार्यकर्तालाई समाजवादका बारेमा प्रशिक्षण दिँदै कांग्रेसको वैचारिक जग बलियो बनाउने काम गरेका थिए । 

पार्टीका नवप्रवेशीहरूलाई उनको क्षमता, योग्यता र योगदानका बारेमा थाहा नभए पनि अग्रज नेताहरू यसमा अनभिज्ञ नहुनु पर्छ । आज बिपीको सच्चा अनुयायी, लोकतन्त्रको हिमायती बौद्धिक धरोहर रोगले थलिएर घरको चार दिवारभित्र कैद भइरहँदा देशको लोकतन्त्र र बौद्धिक जगत्ले ठुलो क्षति बेहोर्नु परिरहेको छ । उनको सक्रियता अझै मुलुकका लागि आवश्यक छ ।

आदर्श र व्यवहारलाई नछुट्याउने बिपी यथार्थमै समाजवादी नेता हुनुहुन्थ्यो । सानो र ठुलोमा कुनै भेदभाव नराख्ने र व्यवहारमा नै सहयोगी भावनाका भएकाले नै प्रतिकूल समयमा समेत डा. अधिकारी जस्ता कार्यकर्ताले दुःखमा स्नेह पाउन सके । आज लोकतन्त्र प्राप्त भई उनकै अनुयायी सत्तामा रहेको बेलामा दुःख पाएका पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूप्रति चासो नदिनुलाई विडम्बना मान्नु पर्दछ । अरूले नभए पनि कांग्रेसले डा. अधिकारी र उनी जस्ता पार्टीमा योगदान दिने सयौँ मान्छेलाई बिर्सिन नहुने हो जस्तो लाग्छ ।   

 

  

Author

डा. धनेश्वर नेपाल