• १२ मंसिर २०८१, बुधबार

बुद्धिचालमा विदेशी खेलाडीको वर्चस्व

blog

हेटौँडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८० ।

राममणि दाहाल

हेटौँडा, मङ्सिर १५ गते । हेटौँडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८० मा हालसम्म विदेशी खेलाडीले वर्चस्व बनाउन सफल भएको छ । प्रतियोगिताको पाँचौँ राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका भारतीय खेलाडी सुभयान कुण्डुले बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिनुभएको छ ।

यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी कुण्डुले चौथो राउन्डमा सहज जीत हात पार्नुभएकोमा शुक्रबार भएको पाँचौँ राउन्डमा पुग्दा दोस्रो वरियताका बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर उद्दिनसँग बराबरीमा रोकिनुभएको हो ।

प्रतियोगितामा भारतीय खेलाडी राहुल गुरुङले श्रायण माजुम्दार र बङ्गलादेशी एफएम नयेम हकले अमरदीप बर्तके माथि जीत निकाल्दै भारतीय खेलाडीद्वय सुभयान कुण्डु र राहुल गुरुङ साथै बङ्गलादेशी खेलाडीद्वय आईएम मोहमद मिन्हाज उद्दिन र एफएम नएम हक समान ४.५ अङ्कका साथ उपाधिको लागि अग्रपङ्क्ति रहनुभएको छ ।

नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले अभिनव कुमारलाई पराजित गर्दै ४ अङ्क जोड्नुभएको आयोजकले जनाएको छ । त्यस्तै चार अङ्कका साथ बङ्गलादेशी आईएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरू एफएम अरविन्द प्रीत सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देवौषणिक डे र अमरदीप बर्कते पछ्याउँदै हुनुहुन्छ ।

पाँचौँ राउन्डमा नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहालले बङ्गलादेशी एफएम मोहमद शरीफ हुसैनसँग बराबरी खेल्दै ३.५ अङ्क हात पार्नुभयो । यसैगरी बङ्गलादेशी एफएम महमद शरिफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवम् चौधरीले ३.५ अङ्क बटुल्नुभएको नेपाल बुद्धिचाल महासङ्घका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो । 

प्रतियोगिता नेपाल खेलकुद महासङ्घ, हेटौँडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा भएको हो ।