लक्ष्मण पौडेल
भैरहवा, मङ्सिर १५ गते। लुम्बिनी बौद्ध विश्व विद्यालय १९ औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको १९ औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध शिक्षाको महत्त्व नेपालमा मात्रै नभएर विश्वभर भएको बताउनुभएको छ। उहाँले बुद्ध धर्ममा आस्था मात्रै नभएर यो एउटा दर्शन र सिद्धान्तसमेत भएको बताउनुभयो। उहाँले भन्नुभयो, “बुद्ध शिक्षा मार्गदर्शक हो, यसको अनुसरण र परिपालना सबैले गर्नुपर्छ।”
बौद्धमार्गको विषयमा सबैले ध्यान दिन जरुरी रहेको भन्दै उहाँले बौद्ध शिक्षाको माध्यमबाट देशमा पर्यटकीय क्षेत्रको समेत विकास गर्न सकिने बताउनुभयो। विश्वमा दुई–तीन महिनामा मात्रै हजारौँले ज्यान गुमाउनु परेको बताउँदै उहाँले युद्धको बाटो सही नभएको बताउनुभयो। नेपालले पनि द्वन्द्वको सामना गरेको कारण अहिले पनि समस्या रहेको बताउँदै प्रदेश प्रमुख शेरचनले नेपालको बौद्ध शिक्षालाई विश्वरभर फैलाएर लाभ मात्रै नभएर पुन्यसमेत कमाउन सकिने बताउनुभयो।
अबको शिक्षा दर्शनसँगै प्रतिफलमा आधारित शिक्षा रहेको बताउँदै उहाँले प्राविधिक ज्ञान, सीप र धारणाको विकास गर्नुपर्ने बताउनुभयो। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विश्वविद्यालयको शैक्षिक विकासमा प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रदेशका दुई लाख युवालाई रोजगार बनाउन प्रदेश सरकारले चार अर्ब बजेट विनियोजन गरेको भन्दै त्यसका लागि सबै निकायले सहकार्यमा काम गर्नुपर्ने बताउनुभयो। मन्त्री गुप्ताले बुद्ध स्थललाई शिक्षा र पर्यटकीय रूपमा विकास गरी यहाँको जमिनलाई आर्थिक उपार्जनमा प्रयोग गर्नुपर्ने बताउनुभयो।
त्यस्तै कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नका लागि उच्च शिक्षामा गुणस्तरवृद्धि आवश्यक रहेको बताउनुभयो।
उहाँले उच्च शिक्षामा गुणस्तरीयता कायम गर्न यही मङ्सिरबाट शैक्षिक क्यालेन्डर लागू गरिएको भन्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्नुभयो।
बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको बताउनुभयो। उहाँले आधुनिक शिक्षा प्रणालीलाई अवलम्बन गर्दै अनलाइन परीक्षा प्रणाली, छोटो अवधिका कोर्ष सञ्चालन गरिने बताउनुभयो।
उपकुलपति बज्राचार्यले कपिलवस्तुमा त्रिपिटक पार्क निर्माण बनाउने योजना अघि बढाइएको बताउनुभयो। विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले सातै प्रदेशमा अनुसन्धान केन्द्र निर्माण गरी विश्वविद्यालयलाई अनुसन्धानमै केन्द्रित बनाउने योजना अनुरूप काम भइरहेको बताउनुभयो। सानो संरचनाबाट विश्वविद्यालय देखिने चरणमा आइपुगेको भन्दै उहाँले बौद्ध शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गरिने बताउनुभयो।
उहाँले विश्वविद्यालय लुम्बिनी, बुटवल र देवदहमा फैलिइसकेको भन्दै छिट्टै कपिलवस्तु र रामग्राम क्षेत्रमा पनि उपस्थिति हुने बताउनुभयो। भौतिक संरचना निर्माण, कर्मचारी शिक्षक व्यवस्थापनमा बजेट कम हुँदा कठिन भइरहेको भन्दै उहाँले अन्य विश्वविद्यालयलाई जस्तै गरी नहेर्न अनुदान आयोगलाई आग्रह गर्नुभयो।
कार्यक्रममा विश्वविद्यालयले कर्मचारी सुरेशराज आचार्य, विजयसिंह क्षेत्री, इमरान धुनिया र कामेश्वर यादवलाई सम्मान गरेको छ। कार्यक्रममा सेमिनार पेपरसम्मिलित पुस्तक विमोचन समेत गरिएको छ।
वार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले स्वास्थ्य शिविर आयोजना गरेको थियो। शिविरमा करिब तीन सय जनाले सेवा लिएका छन्।