अविनाश चौधरी
धनगढी, मङ्सिर १५ गते । कैलालीको लम्कीचुहा नगरपालिका–१० का एक स्थानीय पालेको बङ्गुरमा रेबिज पुष्टि भएको हो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार बङ्गुरमा रेबिजको लक्षण देखा परेपछि पालेका स्थानीयले त्यसलाई मारेर प्रयोगशालामा खबर गरेका थिए । मारिएको बङ्गुरको नमुना प्रयोगशालामा ल्याएर परीक्षण गर्दा रेबिज पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले जानकारी दिनुभयो ।
उहाँले बङ्गुरमा रेबिज देखिएको दाबी गर्नुभयो । “बङ्गुरमा रेबिज नहुने त हैन, तर, यसअघि बङ्गुरमा रेबिज फेला परेको मैले कहीँ पनि सुनेको छैन । सम्भवतः यो नेपालमै पहिलो केस हो ।”
कुकुर र स्यालबाट रेबिज अन्य घरपालुवा जनावर र अन्य वन्यजन्तुमा सर्ने गरेको जनाइएको छ । यस्तै, कञ्चनपुरको बेलौरीमा एउटा स्यालमा पनि रेबिज पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ।