अविनाश चौधरी
धनगढी, मङ्सिर १५ गते । कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको देवहरिया वनस्पति उद्यानमा ५०० प्रजातिका वनस्पति संरक्षण गरिएको छ । नेपालमा पाइने कैयौं प्रजातिका वनस्पति योे उद्यानमा संरक्षण गरिएको हो । जसमा साल, साजदेखि लिएर हर्रो, हर्बसमेत रहेको वनस्पति अनुसन्धान केन्द्र धनगढीले जानकारी दिएको छ ।
१४९.५ हेक्टर क्षेत्रफलमा रहेको देवहरिया उद्यानलाई देशकै उत्कृष्ट वनस्पति अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको छ । यो उद्यानमा जाखोर ताल, मुरफुट्टा, मुरफुट्टी गरी करिब २० हेक्टर ताल क्षेत्र छ । यसैगरी, उद्यानमा वनस्पतिको अनुसन्धान, संरक्षणको कार्य हुँदै आएको छ । यसमा मेन्था, गुर्जो लगायतका वनस्पतिको अनुसन्धान गरिँदै आएको छ । यस्तै, कुरिलो, बोजो, तेजपात, सर्पगन्धा, हर्रो, बर्रो लगायतका वनस्पति संरक्षण गरिएको केन्द्रका प्रमुख गङ्गादत्त भट्टले जानकारी दिनुभयो ।
यसैबीच, उद्यानमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण उद्यानमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म अवलोकनकर्ताहरु आउने गरेको वनस्पति अनुसन्धान केन्द्र धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ४८ हजार ९५७ जनाले देवहरिया वनस्पति उद्यानको अवलोकन गरेका छन् । जसबाट नौ लाख ४० हजार रुपियाँ राजस्व सङ्कलन भएको केन्द्रका प्रमुख भट्टले जानकारी दिनुभयो ।
यसअघि, गत आर्थिक वर्षमा एक लाख चार हजार ५५७ जनाले देवहरिया वनस्पति उद्यानको अवलोकन गरेका थिए । जसबाट २१ लख ३६ हजार राजस्व सङ्कलन भएको थियो । वन नियमवाली २०७९ ले वनस्पति उद्यान प्रवेशमा शुल्क लिने व्यवस्था गरेको छ । शुल्क व्यवस्थाबारे राजपत्रमा प्रकाशित भएपछि वनस्पति अनुसन्धान केन्द्रले अवलोकनकर्ताबाट सीमित प्रवेश शुल्क लिन थालेको हो ।
उद्यान घुम्नेको सङ्ख्यामा बढोत्तरी भएपछि २० जना फोटोग्राफरले रोजगारी पनि पाएका छन् । अवलोकर्ताको फोटो खिचेर उनीहरुले दैनिक तीनदेखि चार हजार रुपियाँसम्म कमाउने गरेको केन्द्रले जनाएको छ ।