गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर १५ गते । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्ट्याउने कुरा सम्भव नभएको बताउनुभएको छ । नेपालमा लोकतन्त्रको विकल्प नरहेको उल्लेख गर्दै गुरुङले केही तत्वले देशमा अशान्ति फैलाउन खोजे पनि उनीहरूको चाहना कहिले पूरा नहुने दाबी गर्नुभयो ।
बिहीबार बेलुका बाँकेका सञ्चारकर्मीसँगको भेटमा बोल्दै महासचिव गुरूङले पछिल्लो समय जातीय, धार्मिक र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको भन्दै जनता सचेत हुनुपर्ने बताउनुभयो।
महासचिव गुरुङले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरू रहेको बताउनुभयो । उहाँले पहिलो चरणमा पूर्व माओवादीहरूको एकता र त्यसपछि कम्युनिष्ट नाम भएका सबैको एउटै केन्द्र बनाउने अभियानमा आफूहरू रहेको बताउनुभयो । उहाँले एउटै झण्डा भएकाहरू एक ठाउँमा आउनुपर्ने भन्दै आउन नसक्नेहरूको मोर्चा बनाएर अगाडि बढ्ने बताउनुभयो ।
पहिलो चरणमा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द (बिप्लव) लगायतसँग पार्टी एकताको कुरा भइरहेको उल्लेख गर्दै गुरूङले एकता प्रक्रिया छिट्टै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। माओवादी पार्टी एक आन्दोलन भएको भन्दै उहाँले कहिले खुम्चिने त कहिले फुक्ने गरेको बताउँदै माओवादी आन्दोलनको विकल्प नभएको धारणा राख्नुभयो ।
प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि केही उदाहरणीय काम गरेको बताउँदै गुरूङले मुलुकको स्थिति ठिक तरिकाले अगाडि बढिरहेको दाबी गर्नुभयो । उहाँले ‘टीआरसी’ लगायत शान्ति प्रक्रियासँग जोडिएका अन्य विधेयकमा राष्ट्रिय सहमतिको प्रयास भइरहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशनसम्म सहमति जुट्नेमा आशावादी रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) को विशेष अभियानका क्रममा कोहलपुर आउनुभएका गुरुङले बिहीबार बैजनाथ तथा कोहलपुर नगरपालिकाका अगुवा कार्यकर्तासँग अन्तरक्रिया गर्नुभएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिनुभयो । पाण्डेका अनुसार महासचिव गुरूङको शुक्रबार सल्यान हुँदै जाजरकोट र रुकुममा पुगेर भूकम्प प्रभावितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।