ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १५ गते । अन्नपूर्ण गाउँपालिका ६ घार र ५ शिखका स्थानीयहरुले कच्ची सडकका कारण डेढ दशकदेखि हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य सडकको समसया भोग्दै आएका थिए । सडकमा गाडी गुडेपछि गाउँनै छोप्ने गरी धुलो उड्थ्यो ।
वर्षातमा हिलाम्य सडकका कारण यात्रा जोखिम र कठिन थियो । हिलोमा सवारी साधन फसेर चालकले हैरानी खेप्नुपरेको थियो । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार, शिख हुँदै चित्रेसम्मको १८ किलोमिटर पाँच सय ४० मिटर दूरीको ग्रामीण सडक फराकिलो, स्तरोन्नति, ग्राभेल, ढलान र कालोपत्रे भएपछि घार र शिखका स्थानीयहरुले १५ वर्षसम्म भोगेको सास्ती हटेको छ ।
सडक कालोपत्रे भएपछि हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको घारका स्थानीयवासी हीरा खड्काले बताउनुभयो । सडक विस्तार, घुम्ती तथा मोड र ग्रेड सुधार भएपछि दुर्घटनाको जोखिम कम हुनुका साथै यात्रा गर्न सहज भएको खड्काको भनाइ छ । उहाँले भन्नुभयो, "सडक स्तरोन्नतिसहित कालोपत्रे भएपछि हामीलाई धेरै राहत मिलेको छ । पर्यटकीय स्थल घोडेपानी जाने पर्यटकलाई पनि सहज भएको छ । कालोपत्रे सडकले गाउँकै मुहार फेरिएको छ ।" अझै पनि केही स्थानको घुम्ती, ग्राभेल र सोलिङ गरिएको सडक सुधार गर्न वडा, पालिका र प्रदेश सरकारले बजेट विनियोजन गरिदिए सहज हुने उहाँको भनाइ छ ।
कालोपत्रे सडकमा गाडी सरर गुड्न थालेपछि गाउँलेहरु हर्षित भएको घारका स्थानीय युवा सुजन बरुवालले बताउनुभयो । वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक कालोपत्रे बन्छ भनेर गाउँलेहरुले सोचेका थिएनन्, उहाँले भन्नुभयो, ‘‘ठेकदारको ढिलासुस्ती र लापरबाहीका कारण केही वर्ष अलपत्र परेको सडक कालोपत्रे भएपछि गाउँलेलाई पालिका केन्द्र र सदरमुकाम बेनी जानआउन सहज हुनुका साथै पर्यटकलाई घोडेपानी जान निकै सहज भएको छ ।’’ सडक राम्रो भएपछि कृषि उत्पादन बजार पुर्याउन र खाद्यन्न ढुवानीमा सहजता भएका स्थानीयहरु बताउँछन् ।
सडक कालोपत्र भएपछि स्थानीयवासी र पर्यटकलाई आवतजावत गर्न सहज भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार शिख र घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौंको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई निकै सहज भएको छ ।
योजना हस्तान्तरण भएपछि गाउँपालिकाले प्रदेश सरकारसँग बजेट माग गरेर बाँकी स्थानमा ढलान र कालोपत्रे गर्ने योजना बनाएको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले भन्नुभयो, "यो योजना पालिकाभित्रकै ठूलो योजना हो । ठेकेदारले समयमै काम सम्पन्न गर्न नसक्दा केही वर्ष अलपत्र परे पनि ढिला गरी सम्पन्न भएको छ । पर्यटकीय स्थल घोडेपानीसम्म नै कालोपत्रे गर्ने गरी पालिकाले योजना बनाउँछ ।"
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्लामै जोखिमपूर्ण सडकका रुपमा लिइएको पोखरेबगर–घार–शिख–चित्रे सडक स्तरोन्नति गर्न २०७५ साल मङ्सिरमा ठेक्कामार्फत निर्माण थालेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि सहरी मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको सो आयोजना निर्माण गर्न मोतीदान–जयमाता जेभीले २७ करोड ९१ लख ३५ हजार रुपियाँमा ठेक्का लिएको थियो । ठेकेदारको ढिलासुस्ती र कोरोना महामारीका कारण तीन वर्ष ढिला गरेर योजना सम्पन्न भएको हो ।