काठमाडौं, मङ्सिर १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीले भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन ( शीतलनिवास)मा शुक्रबार भएको सो भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प प्रभावितहरूका लागि तत्कालै सहयोग गरेको जानकारी दिनुभयो । साथै उहाँले अब शिक्षा, स्वास्थ्य क्षेत्रमा भवनलगायतका संरचना निर्माणमा सहयोग गर्ने जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति पौडेलले लायन्सको मानवीय तथा नैतिक मूल्यसहितका सिद्धान्तबाट आफू प्रभावित भएको बताउनुहुँदै भूकम्प प्रभावितहरूका लागि लायन्सको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।