• १५ मंसिर २०८१, शनिबार

वडाबाटै सामाजिक सुरक्षा भत्ता

blog

ज्येष्ठ नागरिकलाई वडा कार्यालयमै सामाजिक सुरक्षा प्रदान गर्दै कर्मचारी । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर १५ गते । बाँकेको नरैनापुर गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बिहीबार पालिकाको १ बाट जेष्ठ तथा अशक्त नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको गाउँपालिकाले जनाएको छ । 

यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि नागरिकहरु एक घण्टा पैदल हिँडेर गाउँपालिका नजिक रहेको लक्ष्मी सनराइज बैंकमा जानुपर्ने बाध्यता थियो ।ज्येष्ठ नागरिक कोइला चमारिनले बिहीबार वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता पाएपछि अत्यन्तै खुसी भएको बताउनुभयो । “पहिला पहिला झन्डै एक घण्टा पैदल हिँडेर गाउँपालिका नजिकै रहेको लक्ष्मी सनराइज बैंक जानुपर्ने बाध्यता थियो, बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घण्टौँ समय कुर्नुपर्थ्याे,” उहाँले भन्नुभयो, “घरसम्म पुग्ने सडक भएप नि नियमित गाडी नचल्दा, कहिले भाडासमेत नहुँदा र समयमै अटो नभेटिँदा घर फर्कन पनि सास्ती झेल्नुपर्थ्याे तर वडा कार्यालयमा नै भत्ता बुझ्न पाएपछि सबै सास्तीबाट मुक्ति भएको छ, अत्यन्तै खुसी छु ।”

नरैनापुर गाउँपालिकाका कोइला जस्तै अधिकांश ज्येष्ठ तथा अशक्त नागरिकहरू वडाभित्र बैंकको सुविधा नभएका कारण पालिका कार्यालय नजिक रहेको बैंकमा जानुपर्दा विभिन्न सास्ती भोग्दै आएका थिए । नरैनापुर गाउँपालिकाले वडाबाटै जेष्ठ र अशक्त नागरिकका लागि वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि यहाँका स्थानीयलाई सहज भएको छ ।

बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि अहिले पालिकाभित्रका अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूलाई सहज भएको हो ।

यसअघि बैंकबाट भत्ता वितरण गरिएकोमा अब भने वडा कार्यालयबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो । बस्नेतले अशक्त, अपाङ्गता भएका नागरिक र ज्येष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा वडाबाट मात्र नभई टोल र घरघरमा गएर भत्ता वितरण गर्ने तयारी गरिएको बताउनुभयो ।  

नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिने नागरिकको सङ्ख्या तीन हजार ४ सय ७० जना रहेको सामाजिक शाखा प्रमुख जीवनलाल यादवले जानकारी दिनुभयो