• १२ मंसिर २०८१, बुधबार

गाउँमै उपचार पाएपछि स्थानीयवासी खुसी

blog

माझकोटमा आयोजना भएको स्वास्थ्य शिविरमा परिक्षणका लागि पालो कुर्दै नागरिकहरु ।

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १५ गते । स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोटका स्थानीयवासी गाउँमा नै सहज उपचार पाएपछि खुसी छन् । नगरपालिकाको विकट क्षेत्र मानिने माझकोटमा बृहत् स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीयहरुले गाउँमा नै उपचार पाएका हुन् ।

शिविरमा जम्मा एक सय ३१ जनाले स्वास्थ्य सेवा लिएका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार ९३ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । त्यस्तै, ६७ जनाले दाँत र ५० जनाले स्त्रीरोगको सेवा लिएका छन् ।

ग्रामीण क्षेत्रका नागरिकहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै उनीहरुलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरमा उपलब्ध स्रोत, साधन र जनशक्तिको उपयोग गरी प्रभावकारी सेवा प्रवाह गर्ने काम गरिरहेका छौं ।

शिविरमा प्रजनन स्वास्थ्य, आँखा उपचार, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ लगायतका परिक्षण र उपचार गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा महिलाहरुको आङ खस्ने समस्या, यौनरोग उपचार तथा एचआइभी परिक्षण, ग्रामीण अल्ट्रासाउण्ड र दन्त परीक्षण गरिएको थियो । सबै सेवा गाउँमा नै लिन पाएकोमा स्थानीयहरु दङ्ग परेका छन् ।