• १२ साउन २०८१, शनिबार

गुल्मीमा सेनाको गण पुनः स्थापना हुने

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर १५ गते । गुल्मीको सदरमुकाम तम्घासमा नेपाली सेनाको गण पुनः स्थापनाका लागि पहल अगाडि बढाइएको छ । यहाँ गण पुनः स्थापनाका लागि गत कात्तिक २१ गते रेसुङ्गा नगरपालिकाबाट नेपाली सेनाको प्रधान कार्यालयमा पत्र पठाइएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

नगरप्रमुख पन्थीका अनुसार तम्घासमा नेपाली सेनाको गुल्म रहँदै आएकोमा द्वन्द्वको समयमा गण स्थापना भएको थियो । विगत केही वर्ष गण रहेकोमा पछि पुनः गुल्म नै कायम भएको हो । यहाँ गण पुनः स्थापनाका लागि कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्ण बहादुर खड्का, रक्षा सचिव किरण शर्मा र प्रधानसेनापतिसँग छलफल गरिएको भन्दै आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको उहाँले बताउनुभयो ।

गुल्मी जिल्ला मध्य पहाडी क्षेत्रमा क्षेत्रफल, भौगोलिक विकटता तथा जनसङ्ख्याको दृष्टिकोणले ठुलो जिल्ला हो । यस जिल्लामा शान्ति सुरक्षा, विपद् उद्धार, राहत, प्रतिकार्य तथा पुनः स्थापना जस्ता कार्यको लागि समेत सदरमुकाममा गुल्मको सट्टामा गणको आवश्यकता महसुस गरिएको उहाँले बताउनुभयो ।

यस जिल्लामा दुई वटा हाइड्रो–पावर छन् । संसदीय निर्वाचन क्षेत्र दुई वटा रहेकोले निर्वाचनमा सुरक्षाको लागि समेत नेपाली सेनाको जनशक्ति बढी आवश्यकता भएको भन्दै गणको पुनः स्थापनका लागि आग्रह गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

विगतमा जिल्ला सदरमुकाम तम्घासको अतिरिक्त इस्मा र वामीटक्सारमा समेत नेपाली सेनाको पोस्ट रहेकोमा हाल सदरमुकाममा मात्र सेनाको ब्यारेक रहेको उहाँले बताउनुभयो । गुल्ममा भन्दा गणमा करिब चार दोब्बर सङ्ख्यामा सेना हुँदा यहाँका विद्यालय, क्याम्पस, घरधनी, व्यवसायी लगायतका सबै पक्ष लाभान्वित हुने उहाँको भनाइ छ ।