• १२ साउन २०८१, शनिबार

तनहुँमा डेंगुबाट बालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर १५ गते । तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।

व्यास नगरपालिका–१ स्थित इन्द्रेणी स्काई बोडिङ स्कुलमा अध्ययनरत बालकको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा बुधवार मृत्यु भएको हो । दमौली अस्पतालमा परीक्षणको क्रममा डेंगु सङ्क्रमण पुष्टि भएको  यहाँ निको नभएपछि गण्डकी अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको स्कुलका प्रिन्सिपल जयराम अधिकारीले जानकारी दिनुभयो । तनहुँमा जाडो मौसम सुरु भए पनि डेंगुको सङ्क्रमण अझै रोकिएको छैन । जिल्लामा डेंगुको सङ्क्रमणले गर्दा हालसम्म सात जनाको मृत्यु भइसकेको छ ।

तनहुँको दश पालिकामा गरी हाल सम्ममा सात हजार १६६ जनालाई डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार आठ सय २२ सङ्क्रमण भएको छ ।  अन्य नौ पालिकामा एक हजार तीन सय ४४ सङ्क्रमित छन् ।

डेंगुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएका दमौली अस्पतालका प्रमुख  डा। परिवर्तन बराल बताउनुहुन्छ । बरालले भन्नुभयो, ‘जाडो सुरु भएसँगै डेंगुको सङ्क्रमण कम भए पनि नियन्त्रणमा भने नआएकोले सतर्कता अपनाउन आवश्यक छ ।’

डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने,  लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् । बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण भएको बरालले जानकारी दिनुभयो ।